जसपाबाट निकालिएकी उपाध्यक्ष चौधरी एमालेमा प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा)ले पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरीलाई पार्टीबाट निकष्काशन गरेको छ। बुधबार बसेको जसपा पर्साको जिल्ला समन्वय समितिको बैठकले पार्टीको आचरण विपरित काम गरेको आरोप लगाउँदै उपाध्यक्ष चौधरीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

२०७४ को निर्वाचनमा सखुवाप्रसौनी गाउँपालिकाको उपाध्यक्षमा चौधरी, तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाबाट निर्वाचित भएकी थिइन्। अध्यक्षामा जसपाकै प्रदीप जयसवाल निर्वाचित भएका थिए।

चौधरीलाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए। गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएदेखि नै चौधरी र गाउँपालिका अध्यक्ष जयसवालबीच पटक-पटक विवाद चल्दै आएको छ। दुबैले एक अर्कालाई गाउँपालिकाको बजेट भ्रष्टचार गरेको आरोप प्रत्यारोप लगाउँदै आएका छन्। गत सोमबार मात्रै अध्यक्ष र उपाध्यक्षले दुई छुट्टा-छुट्टै स्थानमा गाउँपालिका कार्यालय भवनको शिलन्याश गरेका थिए।

उपाध्यक्ष चौधरी डेढ महिना पहिले जसपा त्यागेर एमालेमा प्रवेश गरेको चर्चा पनि चलेको थियो। तर चौधरीले त्यसको खण्डन गर्दै आफू जसपामै रहेको दाबी गरेकी थिइन्। जसपाबाट निष्काशित उपाध्यक्ष चौधरीले जसपा पर्साले गलत निर्णय गरेको बताइन्। उनले अब आफू नेकपा एमालेमा प्रवेश गर्ने पनि बताइन्। चैत २२ गते वीरगन्जमा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रममा आफू एमालेमा प्रवेश गर्ने उनले बताइन्।

जसपाले गाउँपालिका अध्यक्षको मात्रै कुरा सुनेर आफूलाई पार्टीबाट निकालेको असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, ‘पहिले दुवैसँग पार्टीले स्पष्टीकरण लिनु पर्थ्यो तर एकलौटी कुरा सुनेर निर्णय गर्‍यो। त्यो गलत हो।’ चौधरीका पति शिवनाथ थारु, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *