गाभर भ्याली होमस्टेमा मौलिक भोजन मेला हुँदै

गाभर भ्याली होमस्टेमा चैत १२-१३ गते मौलिक भोजन मेला आयोजना हुने भएको छ। ‘रैथानलेमा भर, स्वास्थ्य जीवनको आधार’ नारासहित आयोजना हुने ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने बताइएको छ।

मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने ब्यवस्था मिलाइएको गाभर भ्याली होमस्टे सञ्चालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए। उनले थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच प्रदर्शन गरिने बताए।

त्यसैगरी हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने ब्यवस्था मिलाइएको छ। ‘मौलिक परिकारको स्वादसँगै लोप हुँदै गएको परम्परागत नाचगान हेर्ने ब्यवस्था समेत महोत्सवमा गरिएको छ,’ उनले भने, ‘आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित, तर लोपुन्मुख नाचगानकोे प्रचारप्रसार गरी यसको प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य छ।’

उनले महोत्सवमा थारु समुदायको मौलिक पोशाकको अवलोकनसँगै किनमेल गर्ने ब्यवस्था मिलाइएको बताए। ‘परम्परागत पोशाकको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने र यसको बजारिकरण गर्न मौलिक पोशाक अवलोकन र किनेर लैजान चाहनेका लागि किनमेल गर्ने ब्यवस्था पनि आयोजकले गरेको छ,’ अध्यक्ष चौधरीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *