रेशम चौधरीको रिहाइका निम्ति पार्टीले सशक्त आन्दोलन गर्नेुपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्को एक दिवसीय बैठक शनिबार राजधानीमा आयोजना भयो। जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ।

विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो संघीय परिषद् बैठक हो। विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ।

प्रतिवेदनमा अध्यक्ष भट्टराईले कांग्रेस वैचारिक दृष्टिकोणले उदारवादी-पूँजीवादी संसदीय लोकतान्त्रिका धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गरे। कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ।

त्यस्तै नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक-फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गरे।

कांग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गरेका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्यक्ष भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गरे। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको उनको विश्लेषण छ। विवेकशील-साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील-लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको उनले प्रतिवेदनमा उल्लेख गरे।

जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको उनको प्रतिवेदनमा उल्लेख छ। ‘स्वतन्त्र मधेस’को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आएको प्रतिवेदनमा भनिएको छ। त्यस्तै पूर्ववत् सरकार र वर्तमान गठबन्धन सरकारका बारेमा र पार्टीको एजेन्डाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘रेशम चौधरीको रिहाइका निम्ति पार्टीले आन्दोलन गर्नेुपर्छ’
डा. भट्टराईले जेल जीवन विताइरहेका सांसद रेशम चौधरीको रिहाइको निम्ति पार्टीले सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन्। उनले प्रतिवेदनमै राजवन्दीहरुको रिहाइ गर्नुपर्ने अग्रसरता पार्टीले लिनुपर्ने उल्लेख गरेका छन्।

‘जनयुद्ध, मधेस जनविद्रोह, थारु विद्रोह, आदिवासी जनजातिलगायत आद्द्दोलनका शहीद, बेपत्ता, घाइते-अपाङ्ग, राजबन्दी र पीडितको समस्यालाई बृहत् शान्ति सम्झौता र राजनीतिक सहमतिका आधारमा यथाशिघई्र हल गर्न पार्टीले दबाब दिनुपर्छ। मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दाको खारेजी, लाल आयोगको प्रतिवेदन सार्वजनीकरण, रेशम चौधरीलगायतका राजवन्दीको रिहाइ आदि निम्ति पनि पार्टीले सशक्त आन्दोलनको अगुवाई गर्नुपर्दछ,’ उनले प्रतिवेदनमा लेखेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *