थारु थिंक ट्यांक

अधिकार थारु

थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।

देशको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, ‘सिनास’ संस्था छ, जसको काम नै नीति अनुसन्धान तथा बहस गर्ने हो। तर, अहिले सिनासको खासै चर्चा भएको पाइँदैन। देशमा धेरै गैर सरकारी संघसंस्था छन्, थिंक ट्यांकको उद्देश्यसहित खुलेका छन्। तर ती थिंक ट्यांकका नजरमा थारुका मुद्दाहरु चर्चाको विषयमा पर्दैनन्। थारु मुद्दाहरुमा धेरै चिजहरु छन्, जुन अनुसन्धाताको पर्खाइँमा छन्। ती मुद्दालाई सतहमा ल्याई बहस विश्लेषण गर्न जरुरी पनि छ।
युरोपेली, अमेरिकी मुकुलमा कयौं थिंक ट्यांक छन, जसको उपस्थिति राज्यको नीति नियम, आर्थिक सामाजिक नीति, सुरक्षा नीति, वैदेशिक नीति, जलवायु परिवर्तनलगायत आदिको कार्यक्रम, कानुन बनाउन धेरै प्रभावकारी भूमिका खेलेका हुन्छन्। अझ नाम चलेका विश्वविद्यालयको प्राज्ञहरुको त अझ बेग्लै महत्व हुन्छ।

नेपालका कयौं थिंक ट्यांक संस्था छन्, जसले विश्वस्तरमै राम्रो पहिचान पाएका छन्। जस्तैः Centre for Economic Development and Administration (CEDA), the Institute for Social and Environmental Transition (ISET-N), Centre for Nepal and Asian Studies (CNAS), Nepal South Asia Centre (NESAC), Nepal Economic Forum (NEF), Martin chautari आदि।

थिंक ट्यांकको उपस्थिति राज्यको नीति नियम बनाउन, ऐन कानुन बनाउन, राज्यले ल्याउने कार्यक्रमबारे व्याख्या विश्लेषण गर्नुपर्ने हो। तर तथ्यांकअनुसार भन्ने हो भने महिलाको उपस्थिति राज्यको निकायमा ज्यादै कम छ। अझ महिलाभित्र को थारु महिलाको कुरा गर्ने हो भने त बत्ति बालेर खोज्ने अवस्था छ। यी विषयहरु हाम्रा नेपाली थिंक ट्यांकलाई जानकारी नभएको हैन। तर खोइ ती थिंक ट्यांकबाट राज्यलाई प्रश्न। थिंक ट्यांकको काम भनेको कमी कमजोरी औंल्याउने र समस्या समाधानको जडिबुटी दिनुपर्ने हैन र?

संघीयता र आन्दोलनको उपलब्धि अहिले थारुले छुट्टै थारु आयोग पाएका छन्। तर थारु आयोगको काम कर्तब्य र अधिकार खासै खुल्ला छैन, बाँधिएको छ। थारु आयोगले गरेको काम परिणाममुखी छैन, जनताले महसुस गर्नेखाले छैन। थारुको पुरानो संस्था थारु कल्याणकारिणी सभाले स्थापनाकालमा थुप्रै उपलब्धिमूलक कामहरु गरेको थियो। जुन स्मरणयोग्य पानि छन्। थारुको नाममा खोलिएका संस्थाहरुको धुलमुले चरित्रका कारण न संस्था बलियो भएका छन्, न ती संस्थाले गरेका काम चर्चायोग्य छन्।

अझै साना-ठूला दोकान चल्दैछन्। थारुहरुको आर्थिक, सामाजिक र राज्यमा पहुँच ज्यादै नै न्यून उपस्थिति छ, भर्खरमात्रै हो ६२-६३ पछि थारुहरुले राज्यको निकायमा उपस्थिति जनाउन थालेको। जनसंख्याको ठूलो उपस्थिति तर प्रशासनिक क्षेत्रमा भने उपस्थिति धेरै कमजोर छ।

राज्यको निकायमा थारुको उपस्थितिलाई कसरी ल्याउन सकिन्छ? कस्ता कमजोरी छन्? के कारणले उनीहरुको उपस्थिति हुन सकेको छैन? यावत मुद्दामा खासै प्राज्ञ तहबाट छलफल अनुसन्धान भएको पाइँदैन।

थारु आन्दोलनमा ब्यक्तिको तहबाट आन्दोलनबारे समीक्षा धेरैले लेखेका छन्। थारुभित्रका समस्या र समाधानका पाटाहरुलाई व्यक्ति-व्यक्तिले केलाएका छन्। थारु साहित्य, सँस्कृति र कला सम्बन्धमा कलम चलाउने डा. कृष्णराज सर्वहारी, सुशील चौधरी, छविलाल कोपिला, अशोक थारु, गोपाल दहितजस्ता व्यक्तिहरु पार्यावाची शब्दजस्तै भइसकेका छन्। सर्वहारीका सयौं किताब, लेख रचना प्रकाशित पनि छन्। छबिलाल कोपिला, डा. सर्वहारी, सुशील चौधरी, शेखर दहितसँग थारु लोक संस्कृति, साहित्यबारे २४ घण्टा गफिए पनि त्यो ज्ञान आर्जन गर्न समय अपुग हुन्छ।

व्यक्ति केन्द्रीत हैन, अब संस्थागत र निरन्तरता चाहिएको छ। धेरै युवा अहिले राजधानी केन्द्रीत ठूल्ठूला कर्पोरेट हाउसमा काम गर्छन्। विश्वविद्यालय तहको प्राध्यापक तहमा कम गर्छन्, जोसँग ज्ञानको अथाह खानी छ, तर त्यो ज्ञान व्यक्ति केन्द्रीत छ। यी थारु युवाहरुले सामूहिक र संस्थागत भएर थारुको आर्थिक मुद्दाहरुमा बहस अनुसन्धान गर्ने हो भने सरकारसँग हाम्रा आर्थिक उत्थान र समाधानको बाटो खुल्ने थियो।

लेखकबाट थप

सामन्ती शासकविरुद्ध लडेका ‘थारु जोधा’हरुको कथा

राज्यको सर्वोच्च निकायमा थारुहरु पुग्न सक्दैनन् कि पुग्न दिइँदैन? [विचार]

थारु आन्दोलन र अबको बाटो [विचार]

हेमनारायण दास चौधरी (उदयपुर), जसले नेपालको प्रतिष्ठित St. Xavier’s College , बाट ए लेभल गोल्ड मेडलिस्ट हुँदै विश्व प्रख्यात अमेरिकी Massachusetts Institute of Technology (MIT) बाट गणित तथा बायोमेडिकल इन्जिनियरिङ गरेका हुन्। उनले बायोमेडिकल तथा कृषि क्षेत्रमा काम गर्ने लक्ष्य राखेका छन्। हेमनारायण दसजस्ता थुप्रै युवाले विदेशी विश्वविद्यालयबाट विज्ञान प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्रलगायतका विषयमा ज्ञान-सिप आर्जन गरेका छन्। यी सबै ज्ञान थारु समाजका लागि प्रयोग गर्ने हो भने थारु समाजले धेरै नै फाइदा लिन सक्छ।

थारुको जल, जंगल, जमिनसँग धेरै नजिकको सम्बन्ध छ। जलवायु परिवर्तनले थारुको मुख्य पेसा कृषिमा धेरै असर परेको छ। पर्याप्त मात्रामा उत्पादन नहुने, उत्पादन गरेको बस्तुमा रोग लागेर उत्पादन घटाउने, कति मात्रामा औषधि प्रयोग गर्ने, यावत जानकारी नहुने, मौसमको पूर्व अनुमान गर्ने नसक्नाले कृषिमा आधारित थारु समुदायले आर्थिक नोक्सान व्यहोर्नु परेको छ। हाम्रो थारु समुदाय धेरै मात्रामा कृषिमा आधारित भएकाले ‘Machine learning’को प्रयोग गर्दै बालीनालीको रोग पत्ता लगाउने र लागेको रोगको औषधि सिफारिस गर्ने सफ्टवेयर बनाएको थिएँ। तर त्यो प्रणालीलाई बजारीकरण गर्न ठूलो आर्थिक चाहिने हुनाले त्यो बाजारीकरण हुन सकेन। यदि त्यो सिस्टमलाई प्रयोग गर्ने हो भने केही मात्रामा उत्पादन बढाउन सकिने थियो।

मेसिन लर्निङ भनेको कम्प्युटर एल्गोरिदमको अध्ययन हो, जुन अनुभव र डेटाको प्रयोगद्वारा स्वतः सुधार गर्न सकिन्छ। अहिले धेरै थारु युवाहरुसँग देश विदेशमा काम गरेको अनुभव छ। अबको विश्व भनेको सूचना प्रविधि, बिग डेटा, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, क्लाउड कम्युटिङ, तथ्यांकको जमाना हो। हरेक कुरामा प्रविधिले छोएको छ। प्रविधि बिना मानव सभ्यता नै चल्दैन। यदि थारु युवाहरुको समूहले हाम्रा थारुको समस्याजस्तै कृषि, स्वस्थ, ब्यापार, जलवायुजस्ता मुद्दामा लागेर अनुसन्धान र समाधान दिने हो भने थारु समुदायमात्रै नभएर देशको आर्थिक विकास हुने थियो।

आदिवासी जनजाति, त्यसमध्ये थारुलाई लाग्ने रोग सिकल सेलको बारेमा राज्यको स्वास्थ्य निकायबाट धेरै अनुसन्धान भएको पाइँदैन। हाम्रा थुप्रै थारु युवाहरु अहिले मेडिकल अध्यन गरेका छन्, यी युवाहरुले यस्ता रोगबारे खोज अनुसन्धान गर्ने हो भने धेरै राम्रो हुने थियो।

युद्ध बल र बुद्धिमताको प्रयोग गर्ने कुरो हो, तर मुख्यतः युद्धमा लागेका सिपाहीहरू धेरै बल प्रयोग गर्छन्‍, यसको मतलब यो हैन कि बुद्धिमता प्रयोग हुँदैन। युद्धलाई युद्धविराम गर्दा विभिन्न प्राज्ञ, बौद्धिक जमातको जरुरत पर्छ, वविभिन्न बुँदामा युद्धबिराम हुन्छ। त्यो बुँदाले भविष्य, वर्तमानमा आफ्नो समुदाय राष्ट्रलाई कस्तो असर पर्छ भन्ने जानकारी प्रायः कमाण्डरलाई थाहा हुँदैन। तर यसबीच धेरै थिंङ्क ट्यांकको जरुरत पर्छ। के हाम्रो थारु समुदायभित्र आर्थिक, सामरिक, अन्तर्राष्ट्रिय सम्बन्ध, मानव अधिकार, विज्ञान प्रविधिबारे बुझेका थिंक ट्यांक छन्?

समाजमा एकाथरी व्यक्तिहरु छन्, जसलाई थारु मुद्दाहरुको कुरो गर्यो भने उनीहरुले भन्ने भनेको त्यही आन्दोलनमात्र हो। आन्दोलनले मात्रै समस्या समाधान हुँदैन। के आन्दोलन नै हो त मुद्दालाई कार्यान्वयन गर्ने उपाय? हाम्रा बीचमा पोलिसी लेभलको बहस कति हुन्छन्? त्यो मुख्य कुरो हो। जोसमा होस गुमाएर गरिने युद्दले कालान्तारमा परिणाम दिँदैन। अहिले धेरैजस्तो मुद्दामा हाम्रा मागहरु भूराजनीतिसँग जोडिएका छन्। के हाम्रो समाजमा अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन जानेका थारुहरु छैनन्?

अहिले रेशम चौधरी जेल जीवन बिताइरहेका छन्। लक्ष्मण थारु कुन अवस्थामा छन् थाहा छैन। रेशमको मुद्दा सम्मानित सर्वोच्च अदालतमा छ, त्यो अदालतले फैसला गर्ने कुरो हो। तर, टीकापुर घटना हुँदै गर्दा, सुन्नमा आएसम्म थारु समुदायको धेरै मानव अधिकार हनन भएको सुनिन्छ। कयौं थारु चेलीहरु बलात्कृत भए भनेर सुनियो र पढियो पनि। यी सबै घटनाक्रम हेर्दा थारु समुदायको अधिकार हनन् भएको देखिन्छ। अब भन्नुस्, आन्दोलन नेतृत्व गरेको र समुदायबाट यी मुद्दालाई सल्यक्रिया गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसम्म पुर्यायए त? हो, यहीँनेर थारु समुदाय चुकेका छन्। खोइ अन्तर्राष्ट्रिय मानव अधिकारसम्म यी मुद्दा पुर्या एएको? खै पोलिसी बनाएको? यावत कुरामा थारु समाज चुकेको छ। थारु समाजले धेरै नेता-कार्यकर्ता जन्माएको छ, तर थिंक ट्यांक भने शून्य।

व्यक्तिगतरुपमा होइन, थारु समुदायभित्र कसैले नेतृत्व गर्दै थिंक ट्यांक बनाउने हो भने थारुभित्र धेरै मुद्दा छन्, जसलाई अध्यन गर्न सकिन्छ र देशको प्रशासनिक निकायमा प्रस्तुत गर्न सकिन्छ। अहिले पनि थारुबारे अध्ययन गर्दा, रिसर्च पेपर, जर्नल भेटिन गाह्रो छ। किनकि प्रयाप्त मात्रामा अध्यन भएका छैनन्। यदि हाम्रा सँस्कृति, कला, साहित्य, आन्दोलन, हाम्रा रीतिरिवाजबारे अध्यन गरिएन भने ग्लोबलाइजेसनका कारण यावत कुराहरु सकिने खतरा छ। जुन अन्वेसन, अनुसन्धानको पर्खाईँमा छन्।

थारु समुदायका संस्था, थारु आयोग, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु लेखक संघ, पत्रकार या कुनै व्यक्तिले नेतृत्व गर्ने हो भने आज धेरै युवाहरु थिंक ट्यांक बन्न तयार छन्। आफूले आर्जेको ज्ञान, समुदायको उज्ज्वल भविष्यको निम्ति काम गर्न तयार छन्। इतिहास कहिल्यै मेटिने कुरो हैन। थारु राजा दंगीशरणबारे धेरै खोज गरियो तर भेटिएन। मेरो अनुरोध छ, सँस्कृतिविद्हरुका लागि यी मुद्दाहरु खोज अनुसन्धानको विषय बन्न सक्छन्।

यस्ता धेरै मुद्दाहरु छन्, जुन अनुसन्धानको पर्खाइँमा छन्। यी कुरामा ‘पब्लिक डिबेट’ हुन जरुरी छ।

लेखक बेलायती विश्वबिद्यालयबाट विज्ञान र प्रविधिमा स्नातक गरेका छन्। उनी अहिले सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत छन्।




One thought on “थारु थिंक ट्यांक

  1. I am impressed sir. I am waiting for more journals or articles if ti is available please share.

Leave a Reply

Your email address will not be published.