सामन्ती शासकविरुद्ध लडेका ‘थारु जोधा’हरुको कथा

अधिकार थारु

कतिपय नयाँ पुस्ताका थारु युवालाई ‘जोधा’को अर्थ थाहा नहुन सक्छ। थारु जोधालाई अंग्रेजीमा उल्था गर्दा ‘Tharu warriours’ पनि भन्न सकिन्छ। शेखर दहितद्वारा लिखिति ‘थारु जोधा’ अहिलेसम्मकै थारु कमैया आन्दोलनविरुद्द लेखिएको सबैभन्दा महत्वपूर्ण दस्ताबेजीकरणको रुपमा लिन सकिन्छ।

लेखकले मुख्यतः जमिन्दारविरुद्धको संघर्षको कथामात्रै नभएर, थारु जोधाहरुले गरेका शैक्षिक अन्दोलनदेखि माओवादी जनयुद्दसम्मको घटनाहरुलाई किताबमा जोडेका छन्। लेखकलाई मेरो अनुरोध छ, थारु जोधाका कथाहरुले निरन्तरता पाओस्। मूलभूमि दाङबाट थारुहरुले बसाइसराई गर्नुको घटनालाई जोड्न सक्यो भने आगामी दिनमा थारुमात्रै नभएर गैरथारुका पुस्तालाई समेत यथार्थ ज्ञान हुने थियो।

पुस्तक अध्यन गर्दैजाँदा थारु जोधाका कथाहरु कुनै विदेशी फिल्मको स्क्रिप्टजस्तै लाग्छ। जहाँ अफ्रिकी मुलुकको घटनालाई आधारबस्तु बनाइएको हुन्छ। पुस्तकमा कतिपय थारु शब्द बुझ्न गाह्रो भएकाले नयाँ पुस्ताका लागि नेपाली वा अंग्रेजीमा प्रकाशन गर्न जरुरी रहेको देखिन्छ। जसले यस विषयमा अध्ययन गर्न चाहने जोकोहीलाई दस्ताबेजको रुपमा बुझ्न सजिलो होस्।

थारु जोधाका पात्र, स्थान फरक पर्न सक्छ, तर यो समग्र थारु समुदायको प्रत्येक घर-परिवारको कथा हो। यस पुस्तकमा थारु भूमिपुत्र आफ्नै जमिनमाथि कसरी कमैया कमलरी बन्न पुगे र थारु मुख्यतः दाङबाट कसरी जमिन्दारबाट शोषण दमन हुँदै बसाईसराई गर्न पुगे भन्नेमा केन्द्रीत छ।

मेरो हजुरबुबा अहिले ८१ वर्षको हुनुभयो, थारु जोधा अध्यन गर्दैगर्दा हजुरबुबासँग सम्बाद हुने मौका मिल्यो। हजुरबुबालाई अलि अलि याद छ, दाङ घोराहीभन्दा दक्षिण पकूई भन्ने ठाउँमा हजुरबुबाको, हजुरबुबाको मौजा थियो रे। ‘थारु जोधा’ उल्लेख गरेजस्तै हजुरबुबाको हजुरबुबालाई त्यहाँका गैरथारु जमिन्दारले कोर्राले कुटीकुटी विभत्स बनाई जग्गा आफ्नो बनाएका थिए। हजुबुबा र बुबा भन्नु हुन्छ, ‘दाङ नारायणपुर बुटन्य़ाबाट ४०-४२ सालतिर होला नयाँ जीवनको सपना बुन्दै र जमिन्दारबाट आजित हुँदै कयौं थारुहरुले गाउ नै शून्य बनाई बुह्रान गएका थिए।’

बुबालाई सम्झना छ, बेस नेपालबाट कैलाली कञ्चनपुरतिर मुक्त कमैयाका बारेमा काम गरेको, बुबाले त्यो समय र कमैया शिविरको अवस्था सुनाउँदा निकै दुःख लागेको भन्नुहुन्छ। ती निमुखा कमैयाहरुको अवस्था ज्यादै दयनिय र कस्टकर भएको बुबा भन्नुहुन्छ।

इतिहास धेरै सुनियो पढियो, तर कतै पनि थारु जोधाहरुका इतिहास लेखिएको पाइँदैन। राज्य पक्षद्वारा थारुका इतिहासलाई लुकाउने अथवा नलेखेको पाइन्छ। नेपाल राज्यको निर्माणदेखि राजा पृथ्वीनारायण शाहदेखि आज लोकतान्त्रिक संघीयतासम्म आइपुग्दा कहीँ कतै कुनै पनि थारु जोधाको इतिहास हेर्न पाइँदैन।

नेपाल निर्माणदेखि आधुनिक नेपालसम्म आइपुग्दा कयौं थारु सहिद भए, तर वीरताको काहानी कुनै सीमित वर्ग समुदायको मात्रै लेखियो। बहादुरीको पगरी कुनै समुदायको ‘ट्याग’ लगाइयो भने थारुलाई कृषि खेती किसानी कमौया कमलरीको पगरी भिराइयो।

आफ्नै भूमिमाथि कमैया कमलरी बनेको थारु समुदायभित्र दन्किएको ‘आगो’को फाइदा माओवादीलाई पनि मिल्यो। माओवादी विद्रोहको बेला हजारौं थारुले बन्दुक बोकेका थिए, कारण एउटै थियो- सामन्ती वर्गले गरेको थिचोमिचोबाट मुक्ति पाउने। वर्षौं वर्षदेखि सरकारको संरचनाको सुरक्षा घेराभित्रै बसेका शासकविरुद्ध आवाज बुलन्द गर्ने। यही विद्रोहको जगमा धेरै थारुहरु मन्त्री पनि भए, तर आज फर्केर हेर्दा त्यो विद्रोहको अचानो थारु समुदाय नै भए। वर्षौंदेखि सरकारको संरचनाको थिचोमिचोमा परेका थारु समुदायको एउटा झिल्को टीकापुर विद्रोह थियो।

थरुहट आन्दोलनले धेरैको नेता बन्ने जग बसाल्यो। थरुहट आन्दोलनमा बनेका पार्टी थरुहट तराई पार्टी नेपाल, जसले गोपाल दहित र गंगा सत्गौँवालाई सांसदसम्म बनाए, तर नीतिगत संरचनामा कुनै परिवर्तन भएको छैन। परिवर्तन जहिल्यै जनताले देखिने र महसुह गर्ने हुनुपर्छ जनतासँग नजोडिएका विकास, जनतालाई के काम।

थारुहरुको अभिभावक संस्था थारु कल्याणकारिणी सभा र परशुनारायण थारु, दाङ हेकुलीका धरणीधर थारुको भूमिकाबारे पनि पुस्तकमा उल्लेख भएको भए आझै राम्रो हुने थियो।

दाङ गोबर्डियाका परशुनरायण थारु आफैँमा एक जमिन्दार थिए। नेपाली केन्द्रीय राजनीतिमा बलियो उपस्थिति थियो उनको। कमैमात्रै अहिलेका पुस्ताका थारुले परशुनरायण थारुको बारेमा थाहा छ। बीपीसँगै राजनीति गरेका थारु पछि आएर राज्यपरिषदका सभापति भएका थिए। उनको योगदानका बारेमा पनि चर्चा हुन जरुरी छ। लेखकलाई मेरो विशेष अनुरोध छ, परशुनरायण थारु र हेकुलीका धरणीधरका बारेमा पनि आउँदो संस्करणमा कथा समेटियोस्। जुन आवश्यक पनि छ।

लेखक लेख्नुहुन्छ- जननेता राधाकृष्ण थारु माहात्मा गान्धीको विचारबाट प्रभावित भएर राणा शासनविरुद्द आवाज उठाउने गर्नु हुन्थ्यो। बाँके, बर्दिया कैलाली, कञ्चभनपुर नयाँ मुलुक भनेर चिनिन्छ, ऊ बेला राणाहरुले आफ्ना भाइ भारदारलाई विर्ता, बक्सिस पनि दिएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवाको पनि धेरै जग्गा बर्दियामा रहेको पनि सुन्न पाइन्छ। दाङबाट नयाँ भविष्यको सपना देख्दै बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) दाङबाट छारा गरेर गएका थारुहरु यिनै राणाबाट फेरि शोषित हुनुपर्यो। अहिले पनि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका कयौं थारुसँग आफ्नो जमिन छैन, पुस्तौंदेखि आफ्नै जमिनमाथि सुकुम्बासी बनेका थारुसँग बस्ने बास छैन, राम्रो रोजगार छैन, राम्रो शिक्षा छैन।

सरकारद्वारा सुकुम्बासी आयोग गठन त गरियो, तर आयोगका अध्यक्षदेखि सदस्यसम्म कुनै पनि सदस्यले थारुको भूमिहीन किसानको समस्या बुझेको र निकायसमक्ष यथार्थ पेस गरेको देखिँदैन। असली भूमिहीन किसानको नामना कयौं नक्कली ‘हुकुम्बासी’ले असली सुकुम्बासीको अधिकार खोसेका छन्। लेखकले पुस्तकका बारेमा बेस नेपालका अध्यक्ष डिल्ली चौधरीको बारेमा चर्चा गरेका छन्, जसले थारु मुक्त कमैयाको आवाज बनेका थिए। मेरो व्यक्तिगतरुपमा डिल्ली चौधरीसँग चिनजान नभए पनि बेस नेपालसँग नजिक सम्बन्ध भएका व्यक्तिहरुसँग चिनजान छ। उनीहरुले डिल्ली चौधरीका बारेमा र उनको आन्दोलनप्रति यो योगदानको बारेमा राम्रो चर्चा गरेका छन्। मेरो व्यक्तिगततर्फबाट धन्यवाद।

पुस्तक एउटा महत्वपूर्ण दस्ताबेज बनेको छ। पुस्तकभित्रका जोधाहरुको योगदान अध्यन गर्दैगर्दा सबैलाई भावुक बनाउने खालका छन्। धेरैभन्दा धेरै जोधा थारु छन्, जसले जमिन्दारविरुद्ध संघर्ष गरेका थिए। लेखकले आउने संस्कर मा समेट्न सक्ने हो भने यो थारु आन्दोलन, इतिहास अध्ययन गर्न मुख्य स्रोत बन्न सक्छ।

थारु समुदायका अधिकार वर्षौंदेखि दबाइएको छ। नयाँ संविधानमा जेसुकै लेखिए पनि जबसम्म भुइँमान्छेले महसुस गर्दैन, संविधान नियम ऐनको कुनै काम छैन। अझै पनि कमैया शिविरमा बसेका थारुहरुको आर्थिक, सामाजिक राजनीतिकमा खासै उल्लेखनीय सुधार भएको देखिँदैन। नीतिले मुक्त कमैया कमलरी घोषणा गरे पनि अवस्था उही पुरानै छ।

थारू राष्ट्रिय साहित्य सम्मेलन, थारु लेखक संघ, थारु पत्रकार संघ नेपाल, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाजलगायत सबै थारु बुद्धिजीवी वर्गले थारु जोधाको नाममा एउटा राष्ट्रिय पुरस्कार र डकुमेन्ट्री निर्माण गर्ने हो भने आउने पुस्ताका धेरैलाई थारु आन्दोलनका बारेमा बुझ्न एउटा कोषेढुंगा हुने थियो।

थारु मुक्त कमैयाको नामना धेरै विदेशी दातृ नियाक काम गर्न आए, नेपालका कयौं संघसंस्थाहरु मुक्त्त कमैयाका बारेमा काम गरेको सुनिन्छ। तर मुक्त्त कमैयाको अवस्था भने उही पुरानै अवस्थामा रहेको छ। वास्तविक मुक्त्त कमैयाको पहिचान गर्दै, मुक्त्त कमैयाहरुको छोराछोरीको शैक्षिक ग्यारेन्टी तथा मुक्त्त कमैयाहरुको गास बास कपासको ग्यारेन्टी गर्नुपर्छ।

पुस्तकभित्र थारुहरु कसरी आफ्नै भूमिमाथि कमैया बने। कसरी जमिन कब्जा गरियो, थारुका साँस्कृतिक, राजनीतिक अवस्था, दमनबारे पढ्न पाइन्छ। यति राम्रो किताबका लागि लेखकलाई साधुवाद दिनैपर्छ।




One thought on “सामन्ती शासकविरुद्ध लडेका ‘थारु जोधा’हरुको कथा

  1. थारु जोध को बारेमा केहि जानकारि मिले पनि पढ्नै पर्ने जस्तो नै लाग्यो बहुत मार्मिक कुरा उठ्टान गृनुभयेको छ

Leave a Reply

Your email address will not be published.