धनगढीमा तीन करोडमा बन्यो थारु संग्रहालय, तर छैनन् संस्कृति झल्काउने सामग्री

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ पटेलामा निर्माण पूरा भएको संग्रहालयको भवन प्रयोगविहीन जस्तै छ। थारु समुदायका परम्परगत बस्तुहरु संग्रहालयमा राखिने र पर्यटक पनि अवलोकनका लागि आउने विश्वासका साथ निर्माण गरिएको भवनमा संस्कृति झल्कीने पर्याप्त सामाग्री नराखिएको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले बताए। ‘केही सामानहरु राखिएको छ,’ उनले भने ‘संग्रहालयलाई आवश्यक पर्ने थप सामाग्री राख्न सकिएको छैन।’

धनगढीको क्याम्पस चौकदेखि झण्डै पाँच किलोमिटरको दूरीमा उक्त संग्रहालय रहेको छ। एक सय थारु परिवारको बसोबास रहेको पटेलामा तीन करोड खर्च गरेर सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले उक्त भवन निर्माण गरेको थियो।

अहिले उक्त संग्रहालयको भवन एकजना हेरालुको जिम्मामा छोडिएको छ। धनगढी उपमहानगरपालिकाले प्रभावकारी रुपमा संग्रहालय सञ्चालन गर्न नसकेको हो। थारु संग्रहालयमार्फत परम्परागत बस्तुहरुको संरक्षण हुने अपेक्षा गरिएको छ। थारु समुदायको चालचलन र परम्पराको समेत संरक्षण र प्रचारप्रसार हुने विश्वासका साथ उक्त भवन निर्माण गरिएको हो।

तर संग्रहालयका लागि भवन निर्माण भएको लामो समय हुँदा पनि प्रभावकारी रुपमा सञ्चालन भएको छैन। उदेश्यसहित संग्रहालयलाई सञ्चालन गर्न सके उक्त क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्ने देखिएको छ। बजेट अभावका कारण सामान खरिद गर्न नसकिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले बताए। ‘कोरोनाका कारण धेरै ठाउँको बजेट काट्नु पर्ने भयो,’ उनले भने, ‘संग्रहालयमा पनि त्यसकै प्रभाव परेको हो। अब विस्तारै अन्य सामाग्री पनि थप्दै जाने तयारी हुँदैछ।’

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले निर्माण सम्पन्न गर्दै संग्राहालयको भवन उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेको थियो।

दिनेशखबर डटकमबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *