नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन्।

भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई सो खोप उपहारस्वरुप प्रदान गरेको हो। यसअघि पनि भारत सरकारले नेपाललाई खोप उपलब्ध गराएको थियो ।

कार्यक्रममा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे। भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्सलगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *