भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ। मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो। नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी जनरल प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कूटनीतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनो रहेको बताए। भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

सेनापति शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै दुई देशका सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्य रहेको बताए।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्सल) केएम करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफको रुपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्मानमा हरेक वर्ष भारतीय सेना दिवस मनाउने गरिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *