व्यवस्थित बन्दै चितवनको थारु छात्रावास

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुमा रहेर अध्ययन गर्न सहज हुने उद्देश्यका साथ १० वर्ष अगाडि थारु छात्रावास स्थापना गरियो । तर छात्रावास व्यवस्थित हुन सकेको थिएन । व्यवस्थित मुख्य प्रवेशद्धार नहुँदा छात्रावासमा सुरक्षा जटिलता देखिन थालेपछि दाताको खोजी भयो ।

सोही क्रममा शैक्षिक क्षेत्रमा ठूलो टेवा पुर्‍याउँदै आएका थारु अगुवाको परिवारले मुख्य प्रवेशद्धार बनाउने निर्णय लियो । अन्ततः छात्रावासमा अहिले व्यवस्थित प्रवेश द्धार निर्माण भएको छ । पूर्व शिक्षक एवं थारु अगुवा भजुमनराम महतोको परिवारले स्वर्गीय श्रीमती लछुमिनीया देवी थारुको स्मृतिमा प्रवेश द्धार निर्माण गरेको हो । सो प्रवेशद्धारको शनिबार एक कार्यक्रमकाबीच भजुमनराम महतोको परिवार र कार्यक्रमका प्रमुख अतिथि थारु जातिको संस्कृतिमा पीएचडी गरेका डा.गणेश खरालले उद्घाटन गरेका छन् ।

१४ वटा आवासीय कोठा रहेको छात्रावासमा हाल २८ जना विद्यार्थीहरु आवासीय सुविधामा अध्ययन गरिरहेका छन् । उनीहरुलाई थाकसे निःशुल्क रुपमा आवासको व्यवस्था मिलाएको हो । विपन्न र जेहेन्दार विद्यार्थीलाई छनोट गरि छात्रावासमा निःशुल्क बसोबासको व्यस्था गर्ने गरिएको थाकसका सभापति ललित चौधरीले जानकारी दिए ।

कार्यक्रममा थारु अगुवा भजुमनराम महतोले श्रीमतीको सम्झनामा प्रकाशन गरेको ‘मोर सम्झनामा लछुमिनीया’ र ‘मोर जिनगीक ७५ वसन्त’ पुस्तकको समेत प्रमुख अतिथि खरालले पूर्णाञ्जली गरेका छन् ।

सो क्रममा पुस्तक मार्फत थारु भाषाको संरक्षण र सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै थारु अगुवा भरतपुर पटिहानीका भजुमनराम महतो र खैरहनी–१० बडगाउँका जोखाप्रसाद चौधरीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.खराल र थाकस चितवनका सभापति ललित चौधरीले दुवै जनालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । थारु अगुवा जोखाप्रसाद चौधरीले ‘जितियाक कथा’, ‘थारु सँस्कृति र परम्परा’ थारु पुस्तक प्रकाशन गरेका छन् ।

यस्तै कार्यक्रममा मुख्य प्रवेशद्धार निर्माण गर्ने महतो परिवार सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.खरालले थारु भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षणमा लाग्न सुझाव दिए । उनले आफू पीएचडी गर्ने बेला थारु भाषा र सँस्कृतिको बारेमा धेरै अध्ययन गरेको भन्दै यसलाई जोगाउने बेला आएको बताए ।

यस्तै कार्यक्रममा बोल्दैस्वर्गीय लछुमिनीया देवीका जेष्ठ सुपुत्र एवं सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतोले स्वर्गीय आमाको सम्झनामा प्रवेशद्धार बनाउन पाउनु गर्वको विषय रहेको बताए । बुवा र आफ्नो परिवार शैक्षिक क्षेत्रबाटै यहाँसम्म आइपुगेको भन्दै शिक्षा क्षेत्रमै आफ्नो समुदायमा योगदान पुगोस् भन्ने उद्देश्यले प्रवेशद्धार बनाउन सहयोग गरिएको बताए । शिक्षा क्षेत्रमा थाकसले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा थप टेवा पुगोस् भन्ने हेतुले सहयोग गर्दै अगाडि बढेको बताए । उनले अझै पनि आफ्नो परिवार शोकमा रहेको भन्दै शोकलाई शक्तिमा बदल्न प्रयासरत रहेको बताए ।

यस्तै महतोले बुवा भजुमनराम महतोलाई लेखनमा सदैव आफूले सहयोग गर्दै आएको स्मरण गर्दै आमाको स्मृतिमा बुवाले कोरेका शब्दलाई पुस्तकको रुपमा प्रकाशन गरिएको बताए । शोकको बेलामा समवेदना प्रकट गरिएका शब्द र फ्रेमहरुलाई ‘मोर सम्झनामा लछुमिनीया’ नामको पुस्तकमा समावेश गरिएको भन्दै यसले सबै पुस्ताले आफ्नो परिवारको बारेमा जानकारी पाउने बताए ।

कार्यक्रममा थाकसका उपसभापति चन्द्रविक्रम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सभापति ललित चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । – नारायण अनलाइनबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *