‘ग्रिन गोल्ड’ अर्थात् घाँस बेचेर मनग्य आम्दानी गर्दै दाङका थारु

घोराहीका महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन्। हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ। बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो। गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुर्या्उँछ। पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उनले बताए। गत वर्ष रु असी हजारको घाँस बिक्री गरिएको उनले बताए। ‘यसपाली पनि राम्रो उत्पादन हुने आशा गरेको छु,’ उनले भने।

घोराही-१७ कर्जाहीका पूर्ण चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पालेका छन्। ‘दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ,’ उनले भने। घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए। ‘गत वर्ष रु ६० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ। यसपाली हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ। एक पटक काटेर सकियो। चार पटकसम्म काट्न सकिन्छ,’ उनले भने। गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलफूल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन्। कृषकले व्यावसायिकरूपमा एकवर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। घोराही-६, ७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन्। धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ। ‘भुइँघाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ।

वर्षातमा लगाइएको धान काट्नुभन्दा अगाडि मसुरो छरेजस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ। घाँस उम्रिँदा धान काटिसकेको हुनुपर्छ। कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्। हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ। घोराही-६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन्। अन्य बालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो। मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ।

घोराही- ६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही-१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन्। अहिले पूरै खेतभरि हरियो बरसिम खेती देख्न सकिन्छ। अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए। दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन्। त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए। तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन्। घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुसी भएका छन्। गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ। प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको बताइन्छ। हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ। पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन्। बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ। ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ। घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ। घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपक्षीलाई खुवाउन सकिन्छ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ। अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए। खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए। घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन्। यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *