सरस्वती चौधरीको घुँडाको शल्यक्रिया, पाँच महिना कोर्ट बाहिर रहने

नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल एपीएफ क्लबकी स्पाइकर सरस्वती चौधरीको घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। सरस्वतीको सोमबार आज बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

यसअघि एमआरआई रिपोर्ट अनुसार सरस्वतीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको थियो। चोट कारण गरिएको परीक्षणको रिपोर्ट अनुसार मिनिस्कस र कुरकुरे हड्डीमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा बमोजिम घुँडाको शल्यक्रिया गरिएको सरस्वतीको पारिवारिक स्रोतले जनाएको छ।

शल्यक्रियाका लागि उनी आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना भएकी थिइन्। सर्जिकल अर्थोपेडिक विभागका डा.शैलेन्द्र श्रेष्ठ, डा.प्रविण नेपाल, डा. उमश कार्की , डा. नेत्र कार्की, डा. समिर केसी तथा एनसथेसिया विभाग डा.सुरेन्द्रमान श्रेष्ठ, डा. पुन्डु श्रेष्ठ, डा. शोभा डंगोलको चिकित्सक टोलीले सरस्वतीको घुँडाको शल्यक्रिया गरेको हो। उनको घुँडाको फिजियो भने मंगलबारबाट हुने बताइएको छ।

गत पुसमा बंगलादेशमा सम्पन्न दोस्रो संस्करणको एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनल खेलको दौरान सरस्वतीको घुँडामा चोट लागेको थियो। नेपाली महिला टोलीले पुष १३ गते भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रो पटक प्रतियोगिताको उपाधि जित्दा सरस्वती टोलीको महत्वपूर्ण सदस्य थिइन्।

चिकित्सकका अनुसार शल्यक्रिया पश्चात अब सरस्वतीलाई कोर्टमा फर्कन कम्तीमा ५ देखि ९ महिनासम्म लाग्ने अनुमान गरिएको छ। पारिवारिक स्रोत अनुसार सरस्वतीलाई अबको १५ दिन बलम्बुमै राखिने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *