एमसीसी पारित गर्न देउवा र ओलीबीच भद्र सहमति, गठबन्धनका नेताहरुलाई तनाव

शम्भू कट्टेल।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न सरकारलाई जति दबाब छ, त्यति नै बढी एमसीसीबारे सहमति जुटाउन गठबन्धन दलहरुलाई सकस। एमसीसी पारित गर्नेबारे गठबन्धनका शीर्ष नेतृत्वबीच आंशिक सहमति भएको छ। तर, गठबन्धनमा आबद्ध दलहरुले एमसीसीबारे पार्टीभित्र भने घनिभुत छलफल गरेका छैनन्।

सबैभन्दा बढी नेकपा माओवादी केन्द्रमा एमसीसी पारित गर्नेबारे सहमति जुटाउन अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सकस परेको छ। अमेरिकाले जनवरीसम्म एमसीसीबारे निर्णय लिन आग्रह गरेबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमा ‘एमसीसी पास गरौं’ भन्ने प्रस्ताव राखेका हुन्। प्रधानमन्त्रीको प्रस्तावपछि गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन्। जनवरीभित्र एमसीसीबारे नेपालका राजनीतिक दलहरुलाई सहमति जुटाउन अमेरिकाले समय दिएको थियो। राजनीतिक दलहरुबीच सहमति कायम भए फेब्रुअरीभित्र संसदबाट अनुमोदन गरी एमसीसी कार्यान्वयनमा लैजाने अमेरिकीको तयारी छ। अमेरिकाले सोही कुरा प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन र विपक्षी दलका शीर्ष नेताहरुलाई भनिसकेको छ।
प्रधानमन्त्री देउवा विपक्षी दल एमालेको सहयोग लिएर भए पनि एमसीसी पारित गर्ने पक्षमा छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एमसीसी पारित गर्नेबारे भद्र सहमति भइसकेको एमालेका एक नेताले अन्नपूर्णलाई बताए। ‘तर एमसीसी पास गरौँ भन्दै एमालेले अग्रसरता देखाउँदैन,’ उनले भने।

गठबन्धन दलले एमसीसी पारित गर्ने निर्णय गरे आफूले सहयोग गर्ने अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भनेका छन्। एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएका बेला नै एमसीसी पारित गर्न खोजे पनि त्यसबेला माओवादी केन्द्र र सभामुख अग्नि सापकोटाले असहयोग गरेका थिए। सरकारले निर्णय गरे एमसीसी पारित गर्न एमाले बाधक नहुने अध्यक्ष ओलीले अमेरिकीहरुसँग नै भनिसकेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी संसद अधिवेशनमा जसरी भए पनि एमसीसी टेबल गर्ने पक्षमा छन्, चाहे गठबन्ध किन नफुटोस। प्रधानमन्त्री देउवाले भन्दै आएका थिए, गठबन्धन राष्ट्रिय सभा निर्वाचनसम्मका लागिमात्र हो। नेपाली कांग्रेसकै अधिकांश नेताहरु गठबन्धको विपक्षमा छन्।

बाहिर जे-जस्तो अभिव्यक्ति दिए पनि कांग्रेस महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले चुनावसम्म गठबन्धन कायम राख्ने विषयबारे थोरै पनि विश्वास गरेका छैनन्। चुनावसम्म गठबन्धन रहनेमा उनीहरुको रत्तीभर विश्वास छैन। उनीहरु गठबन्ध फुटाउने बहानामात्र खोज्दैछन्, त्यो बहाना एमसीसी हुनसक्ने प्रबल सम्भावना छ।

एमसीसीबारे निर्णय लिन प्रधानमन्त्री देउवालाई चर्को दबाब छ। नेपालस्थित अमेरिकी दूतावासले मात्र होइन, वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले समेत एमसीसी पारित गर्ने-नगर्ने विषयमा छिटो निर्णय लिन सरकारलाई दबाब दिँदै आएको छ।

सरकारको नेतृत्व लिइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न जति हतारिएका छन्, त्यति नै उनका सत्ता सहयात्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिलम्ब गर्न चाहन्छन्। प्रचण्ड एमसीसी पारित भए वा अमेरिकीले फिर्ता लग्ने अवस्था आए त्यसको दोष प्रधानमन्त्रीलाई थोपार्न चाहन्छन्। एमसीसी पास वा फेल भएको कुनै पनि श्रेय लिन प्रचण्ड चाहँदैनन्।

प्रचण्डले पास वा फेल जे भए पनि एमसीसीलाई चुनावी एजेण्डाचाहिँ बनाउने दाउँमा छन्। जनतामाझ विश्वास गुमाउँदै गएका प्रचण्डलाई एमसीसी पारित गर्दा नजिकिँदै गएको निर्वाचनमा हार व्योहर्नसक्ने सम्भावित चुनौतिले पिरोलेको छ।

सत्ता गठबन्धनबीच एमसीसीको विषय पेचिलो भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओ र प्रचण्डबीच भएको सम्वादलाई समेत अर्थपूर्णरुपमा हेरिएको छ। उनीहरुबीच भिडियो कन्फरेन्समार्फत् शनिबार छलफल भएको हो। यस विषयमा प्रचण्डको सचिवालय बोलेको छैन। तर माओवादीकै फरक-फरक नेताहरुले प्रचण्ड र ताओबीचको छलफललाई पुष्टि गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं र उनको दल नेपाली कांग्रेसभित्र एमसीसीबारे खासै विवाद छैन। निर्वाचनमा फेस सेभिङ हुनेगरी एमसीसी पारित गर्ने दाउँमा छ, नेपाली कांग्रेस।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पनि एमसीसीबारे नकरात्मक छैनन्। गठबन्धनबीच एमसीसीबारे सहमति जुट्ने अवस्था आए माधव नेपाल त्यसमा बाधक नबन्ने मनस्थितिमा छन्। अमेरिकीहरुसँग नेता नेपालको सम्बन्ध अविश्वासिलो छैन। सो पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एमसीसी पास गर्न नहुने अडानमा छन्।

चिनियाँहरुसँगको सामिप्यताले गर्दा पनि खनाल एमसीसीको खुलेर समर्थन गर्न सक्दैनन्। बुझेर या नबुझेर एमसीसी कुनै पनि बहानामा पारित गर्न नहुने पक्षमा वकालत गर्ने अधिकांश नेता नेकपा माओवादी केन्द्रमा छन्। त्यसमा पनि एमसीसीको कट्टर विरोधी र टेबल नै गर्न नहुने पक्षमा छन् सभामुख अग्नि सापकोटा। प्रचण्डलाई पार्टीभित्रै यथास्थितिमा एमसीसीबारे सहमति जुटाउन सकस देखिएको छ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सभामुख अग्नि सापकोटा, लिलामणि पोखरेललगायतका केही नेताहरु एमसीसी पारित गर्नेबारे कुरै सुन्न चाँहदैनन्। माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठसमेत सोही धारमा छन्।

अध्यक्ष प्रचण्ड, वर्षामान पुन, शक्ति बस्नेत एमसीसी पारित गर्नेबारे लचिलो छन्। यस्तो अवस्थामा एमसीसी पारित गर्ने विषयमा देउवाका सत्ता सहयात्री प्रचण्डले सहजै सहमति जनाउलान भन्नेमा आशंका छ। त्यसमा अर्को ‘फ्याक्टर’ चीन पनि हो।

चीनले माओवादी नेताहरुमार्फत् एमसीसी पारित नगर्न लबिङ गर्दै आएको छ। जनताको विश्वास गुमाउँदै गएका प्रचण्ड एमसीसी पारित गर्न सहजै सहमति जुटाएर चीनको समेत अविश्वासिलो बन्न चाहँदैनन्।

पदाधिकारी चयन प्रक्रियामा नै अप्ठयारोमा परेका प्रचण्डलाई पार्टीभित्र एमसीसीबारे सहमति गराउन थप चुनौति छ। झन्डै ६० अर्ब रुपैँया बराबरको अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रमअघि बढाउनेबारे प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच ‘भद्र सहमति’ भएपछि देउवाले गठबन्धनमा प्रस्ताव राखेको स्रोतको दाबी छ।

अमेरिका समेत एमसीसी पारित हुने विषयमा ढुक्क देखिन्छ। केही दिनअघि वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयमा भएको बोर्ड बैठकले समेत नेपालले छिट्टै एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएको निष्कर्ष निकालेको थियो।

शनिबारको सत्ता गठबन्धनको बैठकअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे के गर्ने भनेर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका माधव नेपाललाई प्रश्न गरेका थिए। उनले एमसीसीकै कारण मुलुक अस्थिरतातर्फ धकेलिन नहुने बताएका थिए। जवाफमा प्रचण्ड र नेपालले पार्टीभित्र छलफल भइरहेको बताएका थिए। ‘एमसीसीकै कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्नु हुँदैन। सत्ता गठबन्धनभित्रका दलहरुले छिट्टै निकास दिनुपर्छ,’ पौडेलले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री देउवाले सोमबारको बैठकमा पनि प्रचण्ड र नेपाललाई एमसीसी जसरी पनि पारित गर्नुपर्ने बताएका थिए। ‘एमसीसीको विषय कठीन छ। तपाइँहरुले छिट्टै पारित गराउने वातावरण मिलाउनुपर्‍यो,’ भेटमा देउवाले भनेका थिए। एमसीसीका विषयमा पार्टीभित्र छलफल भइरहेको जवाफ प्रचण्ड र नेपालले दिएको बताइएको छ।

गत नोभेम्बरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र सेप्टेम्बरमा एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालका आएका थिए। नेपालमा उनीहरुले प्रधानमन्त्री देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटेर एमसीसी पारित गर्न आग्रह गरेका थिए। -अन्नपूर्णपोष्टबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *