क्रिकेट खेलाडी सरस्वती चौधरी ‘बी’ र ममता चौधरी ‘सी’ ग्रेडमा

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीसहित ५ खेलाडीलाई सन् २०२२ को लागि ग्रेड ए मा राखेको छ। क्यानको बिहीबार बसेको बोर्ड बैठकले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता गर्दै उनीहरुसहित पाँच खेलाडीलाई ग्रेडिङमा समावेश गरेको छ।

यसअघि कारवाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी ग्रेडिङमा समावेश थिएनन्। त्यस्तै क्यानले कप्तान सन्दीप लामिछाने र करण केसीलाई पनि ए ग्रेडमा राखेको छ। त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन्।

त्यसैगरी ग्रेड ‘सी’ तर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन्। ‘अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ’ क्यानले विज्ञप्तिमा जनाएको छ।

त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ।

महिलातर्फ भने ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन्। ग्रेड ‘बी’तर्फ सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्।

त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहेका छन्। त्यसैगरी बैठकले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *