भोजपुरी कलाकार खेसारीलाल नआएपछि बर्जु महोत्सवमा ताण्डव, मञ्च जलाइयो

भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्। सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।


मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन्। कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए। स्रोतका अनुसार कलाकार यादवलाई विराटनगरमा रोकिएको छ।

उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका छन्। स्टेज र कुर्सीहरू समेत तोडफोड गरेका छन्। स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

यद्यपि, घटनाबारे यकिन विवरण भने हालसम्म प्राप्त भएको छैन। अहिले घटनास्थलमा जिल्ला प्रहरी सुनसरीबाट प्रहरी परिचालन गरिएको छ। सुनसरीको बर्जु-६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो।

मंगलबार महोत्सवको अन्तिम दिन थियो। कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो। तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *