स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमति

सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो। संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ।

बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। ‘आज सैद्धान्तिक छलफल मात्रै भएको हो,’ गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। तर, डेटलाइनबारे आज कुराकानी भएन।’

गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताए । ‘पहिले आफ्ना दलमा आन्तरिक छलफल गरेर एकपटक पुनः शीर्ष तहमा बसेर मितिबारे टुंगो लगाउने सहमति भएको छ,’ उनले भने।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमै स्थानीय तहको निर्वाचन हुने बताए । बैठकबारे जानकारी गराउँदै उनले भने, ‘संविधानले तोकिएकै समयमा स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत गराउँदै स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौं । समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *