चीनमा एमबीबीएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी

चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी
कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए ।

मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले इन्टर्नसिपको व्यवस्था गर्न आयोगमा पत्राचार गरेको १० दिनसम्म पनि कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले उपाध्यक्षलगायतको कार्यकक्ष जाने भवनमा ताला लगाएका हुन् । विद्यार्थीले लगाएको ताला प्रहरीले तत्काल फोडेको छ । ताला फोडेपछि विद्यार्थीहरूले गिरीविरुद्ध नाराबाजी गरेका थिए । विद्यार्थी र आायोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीचको विवाद बढ्न थालेपछि गिरी प्रहरीको सुरक्षा घेरामा भागेका थिए ।

सरकारले सन् २०१५ को (चाइनिज मिडियम) र २०१६ का विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको थियो । चीनको विश्वविद्यालयमा एमबिबिएस अध्ययन सकेर इन्टर्नसिपको पर्खाइमा रहेका इमरान खानले छिटो इन्टर्नसिपको व्यवस्था गर्न दबाब दिन आयोगमा ताला लगाएको बताए । ‘सरकारले इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको छ, चिठी आयोगमा पुगिसकेको छ, तर आयोगले किन अलमल गरेको हो थाहा छैन,’ उनले भने, ‘हाम्रो आठ महिना ढिलाइ भएको छ । अब थप ढिलो नहोस् भन्न खोजेका हौँ ।’

कोभिडका कारण चीनको सीमा नखुल्दा विद्यार्थी फर्किन नपाएपछि विश्वविद्यालयले जुन देशमा रहेका छन् त्यही देशमै इन्टर्नसिप गर्न विद्यार्थीलाई आग्रह गरेका छन् । अहिले इन्टर्नसिपको पर्खाइमा डेढ सयजना विद्यार्थी रहेको खानको भनाइ छ ।

कोभिडले एकपछि अर्को समस्या

चीनमा चिकित्सा शिक्षा अध्ययनका लागि गएका विद्यार्थी कोभिडको समयमा नेपाल फर्केका थिए । उनीहरू अहिलेसम्म अध्ययन पूरा गर्न जान पाएका छैनन् । कहिले जान पाउने भन्नेसमेत यकिन छैन ।

चीनमा चिकित्सा शिक्षा (एमबिबिएस/बिडिएस) अध्ययन गर्न गएका विद्यार्थीको पढाइ सकेर इन्टर्नसिप सक्नसमेत केही महिना मात्र बाँकी हुँदा कोभिडका कारण नेपाल आएका विद्यार्थी वर्ष दिनसम्म पनि फर्कन नपाएपछि समस्यामा परेका थिए ।

लामो समयसम्म धेरै ठाउँमा भौँतारिएपछि सरकारले सन् २०१४ र २०१५ को ब्याचका मर्कामा परेका विद्यार्थीलाई नेपालमै इन्टर्नको व्यवस्था गरेको थियो । चिकित्सा शिक्षा आयोगले आवेदन माग गर्दा एक सय ३६ जनाले आवेदन दिएका थिए । कोभिडको उच्च जोखिम रहेका वेला इन्टर्न गर्दै गरेका विद्यार्थीलाई समेत नेपाल ल्याइएको थियो । आयोगले टोली बनाएर २०१४ ब्याचको समस्या समाधान गरेको थियो । त्यतिवेला विश्वविद्यालयले नेपालमा इन्टर्न गरेकालाई पनि मान्यता दिने भएको थियो । त्यसपछि चीनका विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै दबाब दिँदै आएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *