प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर कायम

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।

सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लाकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेस प्रदेशका लागि भएको मतदानमा ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। उक्त सङ्ख्या प्रदेशसभामा उपस्थिति ९९ प्रदेशसभा सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेस प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे।

जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेस प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे। हालः प्रदेश नं २ को प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ। प्रदेश नं २ का नामका लागि मधेस प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गरिएको थियो।

त्यस्तै आजै प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो। प्रदेशसभामा आज भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको थियो। हालः कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त सङ्ख्या दुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए।

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल-भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको उल्लेख छ। दोस्रो पटकको प्रयासमा प्रदेशको नाम र राजधानीको टुंगो लागेको हो। यसअघि २०७६ साल चैत ३ मा मतदान हुँदा पनि नाम र राजधानी तोकिन सकेको थिएन । दुवै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि नाम र स्थायी राजधानीको प्रस्ताव असफल भएको थियो।

भोलि सार्वजनिक विदा
मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ। नाम मधेस र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको हो। मधेस प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा विदा दिइने बताए। नाम र राजधानी तय भएपछि खुसीयालीमा विदा दिइएको उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *