कांग्रेसका तीन वडाध्यक्षसहित १६ जनप्रतिनिधि रेशम चौधरीको पार्टीमा आबद्ध

टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएका छन्। टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिँदै आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व रहेको खुलासा गरेका हुन्।

विज्ञप्तिमार्फत् टीकापुर-३ का वडाध्यक्ष रामसेवक महत्तो, वडा ४ का वडाध्यक्ष लालवीर चौधरी, वडा ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु, कार्यपालिका सदस्य रमेश विक, वडा २ का वडा सदस्य चक्र चौधरी, वडा ३ का वडा सदस्य विना चौधरी र भागीदेवी कामी, वडा ४ का वडा सदस्य तुल्सा विक, रुपमति द.थारु, सदस्य कन्हैया चौधरी, आशा थारु, सरिता भुल र प्रेमलाल चौधरी, वडा ५ का वडा सदस्य वलिराम चौधरी, वडा ६ का वडा सदस्य जमुना चौधरी र रामशंकर चौधरीले आफूहरुले कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएको संयुक्त विज्ञप्तिमार्फत् सार्वजनिक गरेका हुन्।

कांग्रेसले पुस २५ गते उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आबद्व भए नभएको लिखित स्पष्टीकरण माग गरेको थियो। लिखित जवाफ माग भए पनि आफूहरुले एक कार्यक्रमबीच सार्वजनिक गर्दै आफूहरु कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएको विज्ञप्तिमार्फत् जनाएका छन्। रेशम चौधरीले श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाइ नयाँ दल दर्ता गरी विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *