कर्णाली प्रदेशमा थारुहरुको माघी विशेष कार्यक्रम

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेत र थारु अर्गानिक सामुदायिक होमस्टे वीनपा ९ तिलपुरको आयोजनामा माघीको महत्वबारे प्रशिक्षण सहित विविध साँस्कृतिक नाचगान गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा माघी पर्वको महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले यस पटक यस पर्वको महत्व बारे प्रशिक्षणसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले बताए।

माघी पर्वको महत्वको बारेमा कार्यपत्र थारु संस्कृतिविद एवम् साहित्यकार मानबहादुर चौधरी पन्नाले प्रस्तुत गरेका थिए। कार्यपत्रमा थारुहरुको महान पर्व माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौति र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषय उठान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुर्खेत वीरन्द्रनगर नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष सुरेश कुमार मानन्धरले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए। यस्तो रचनात्मक कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत् गर्दै जानु पर्ने बताए।

संस्कृति देशको पहिचान र चिनारी भएकाले सबै जातजातिको संरक्षण गर्न संग्रहायलमा वडाबाट वडाअध्यक्ष भएदेखि हालसम्म निरन्तर आर्थिक सहयोग गर्दै आएको बताए। थारु कला संस्कृति संरक्षणका लागि वडा, स्थानीय, प्रदेश तथा संघीय सरकार सबेले महत्व दिनुपर्ने जरुरी रहेको बताए।

कार्यक्रमका विशेष अतिथि थाकसका सभापति बेचुलाल चौधरीले थारुहरुको मौलिक संस्कृति पहिचान धरोहर माघी पर्व पनि हो। यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गर्नुपर्नेमा वेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको चिन्ता व्यक्त गरे।

लखागिन थारु उत्थान मञ्च सुर्खेतका सल्लाहकार सनिसरा महतमले सुर्खेतका थारुहरुको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारु समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए। युवालाई पुराना पुर्खाहरुले सिकाउनुपर्ने र युवाहरु पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए। युवाहरुले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुनेमा जोड दिए।

कार्यक्रममा थारु वुद्धिजीवि लाल बहादुर चौधरी, जंगलाल चौधरी, अमर चौधरी, शेर बहादुर थारु लगायतका वक्ताहरुले थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न थारु कलाकारहरुको थारु नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारु उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *