सांसद मोदीले भने : उखु किसानका लागि अनशन बसौं

सांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन्।

उनीहरुले संसदीय समितिले उखु किसानको विषयमा पटक-पटक दिएको निर्देशन पनि पालना नभएको भन्दै विरोध जनाए। बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखुको उचित मूल्य नपाउनु र बिक्री भएको उखुको भुक्तानी समयमा नपाउनु दुखद भएको बताए। उनले उखु किसानका लागि सांसदहरु नै आमरण अनशन बस्ने अवस्था आएको बताए। सांसद मोदीले प्रस्ताव गरे, ‘अब सांसदहरू नै आमरण अनसन बसौं।’ किसानहरूले अझै पनि चिनी मिलहरुबाट ८ करोड ७० लाख रुपैयाँ भुक्तानी लिन बाँकी भएको बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *