रेशम चौधरीलाई पार्टीले कारबाही गर्छ? यसो भन्छन् लोसपा नेता

निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।

रेशम चौधरी प्रतिनिधिसभा चुनावमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए। ७ भदौ २०७२ भएको टीकापुर घटनामा मुख्य आरोपित बनेपछि रेशम चौधरी भारतमा निर्वासित भएका थिए। त्यतिबेला उनले वारेसनामामार्फत् कैलाली क्षेत्र नं १ मा उम्मेदवारी दिएका थिए। उक्त चुनावमा रेशम चौधरी ३४ हजार ३४१ मत ल्याएर विजयी भएका थिए। उनी प्रतिनिधिसभामा विजय हुँदा प्रदेशसभामा कृष्ण चौधरी विजयी भएका थिए भने समानुपातिकतर्फ मालामती राना प्रदेश सांसद भएकी थिइन्।

अहिले तत्कालीन राजपा जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा परिणत भएको छ। कैलालीमा पनि मालामाती रानाले रेशमको साथ छोड्दै जसपा रोजेकी छन्। रेशम चौधरी लोसपाका निलम्बित सांसद एवं केन्द्रीय कार्यकारिणी सदस्य रहेका छन्।

श्रीमतीले नयाँ पार्टी जन्माउँदै गर्दा रेशम चौधरीलाई लोसपाले कारबाही गर्छ? यसबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन। लोसपा नेता डा. सुरेन्द्र झाले रेशम चौधरीको नातागोता कसैले पार्टी खोल्दैमा रेशम चौधरीलाई कारबाही नहुने बताए। ‘हामीले उहाँ (रेशम)को श्रीमतीको नाममा दल दर्ता हुँदै गरेको सुनेका छौं। नातागोतामा कसैले पार्टी खोल्दैमा रेशम चौधरीलाई कारबाही हुँदैन,’ उनले अन्नपूर्णसँग भने।

उनले तत्काली राजपा, जसपा र अहिलेको लोसपाले थारुहरुको माग मुद्दाबारे निरन्तर आवाज उठाउँदै आएको बताए। अध्यक्ष महन्थ ठाकुरले पनि पटक-पटक रेशम चौधरीको रिहाइबारे आवाज उठाउँदै आएको उनको भनाइ छ। ‘थारुको माग सम्बोधन हुनुपर्छ। रेशम चौधरीलगायत टीकापुरका राजबन्दी रिहाइ हुनुपर्छ भनेर हामी निरन्तर आवाज उठाइरहेक छौं। अध्यक्षजीले पनि निरन्तर लबिङ गरिरहनुभएकै छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *