छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका-६ सिंहपुरमा आयोजना गरिने भएको छ। आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ।

उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसिराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रुपमा रहेका छन्।

सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानीय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए। जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ। थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ। सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ।

‘थारु समुदायका लेखकले अरुको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन्,’ थारु बुद्धिजिवि बलबहादुर डगौराले भने, ‘सम्मेलनमा थारुशास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्नका लागिसमेत गहन छलफल हुने छ।’ साहित्य ज्ञानको विषय, मनोविज्ञान र राजनीतिका सन्दर्भका रुपमा रहेको चर्चा गर्दै उनले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताए। सम्मेलनमा देशभरीका थारु साहित्यकार, बुद्धिजीबी, लेखकको जमघट हुने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *