माओवादीको सुदूरपश्चिम प्रदेशको अध्यक्ष बन्ने दौडमा यी थारु नेताहरु

नेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम सम्मेलन सम्पन्न भएको छ। धनगढीमा ४ दिनसम्म चलेको सम्मेलनले पदाधिकारी चयन नगरी २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो। कञ्चनपुरबाट प्रदेश कटिमीका सदस्य चयन गर्दा विवाद भएपछि चार जना पहिलो बैठकबाट थप गरेर २ सय २३ सदस्यीय कमिटी बनाइने माओवादी सुदूरपश्चिमले जनाएको छ।

१३ सय बढी प्रतिनिधि सहभागी प्रदेश सम्मेलनले प्रदेश कमिटी घोषणा गरेको र पहिलो बैठकबाट पदाधिकारीको चयन हुने माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले जानकारी दिए। उनका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी पहिलो बैठकबाट चयन गरिने छ।

प्रदेश अध्यक्षका लागि ६ जनाले दाबी गर्दै आएका छन्। केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन्।

माओवादी सुदूरपश्चिमका एक नेताका अनुसार हरि चौधरीको अध्यक्षमा सम्भावना बलियो छ। ‘प्रदेश कमिटीमा परेका अधिकांश कैलालीका छन्,’ ती नेताले भने, ‘त्यसैले कैलालीकै चौधरीले अध्यक्ष पाउने सम्भावना बढी छ।’ प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्य नेपबहादुर चौधरीका अनुसार राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि प्रदेश सम्मेलनमार्फत चयन गरिएको छ। ‘प्रदेशमा ८७ हजार बढी संगठित सदस्य रहेका छन्,’ उनले भने, ‘१५ सय संगठित सदस्य बराबर एक जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरिएको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *