सदनमा सभामुखको पक्षपातपूर्ण व्यवहार देखियाे : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको टिप्पणी गरेकी हुन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाइन्। उनले सभामुख सापकोटाकै पक्षपातपूर्ण व्यवहारका कारण संसद बैठक सूचारु हुने अवस्था नरहेको बताइन्।

सचेतक चौधरीले भनिन्,‘सरकार र सभामुखलाई हामीले पटकपटक संसद अवरुद्ध गरिरहँदा हामीले ध्यानाकर्षण पनि गराएका छौं। नेकपा एमाले संसदीय दलले कारबाही गरेका सांसदहरुलाई प्रवेश गराईरहँदा यो चाँही गैरकानुनी हो भनिरहँदा सभामुखले यसलाई नटेरेर जुन आफ्नो तरिकाले संसद चलाई रहनु भएको छ। एउटै केशमा कसैलाई २४ घण्टा पनि नबित्दै सूचना जारी गर्नुहुन्छ भने कसैलाई चाँही पक्षपातपूर्ण व्यवहार गरेर आजको मितिसम्म पनि कारबाहीको सूचना निकाल्नु भएको छैन। त्यसकारण हाम्रो यो बाध्यता हो, रहर होइन।’

नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। सचेतक चौधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान पनि राखिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *