एमाले महाधिवेशन: केन्द्रीय कमिटीको आकार बढाउँदा थारु कोटाको संख्या बढ्ला?

नेकपा एमालेको अन्तिम बैठकले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी आकार बढाउने निर्णय गरेको छ। सौराहामा बसेको बैठकले पदाधिकारीको संख्यासमेत बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ।

यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।

१५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको छ भने उपाध्यक्ष र उपमहासचिव थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ।

पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो। स्थायी कमिटी भने यथावत राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको हो।

थारु कोटा बढ्ला?
एमालेले दसौं राष्ट्रिय महाधिवेशनमा समावेशीअन्तर्गत थारु कोटामा ६ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था राखेको छ। २२५ सदस्यीय कमिटीको यो साढे दुई प्रतिशतमात्र हो। ७६ सदस्य थप हुँदा थारु कोटामा कम्तीमा एउटा संख्या बढ्नुपर्ने थारु नेताहरुको अनुमान छ। महाधिवेशनअन्तर्गत आज मनोनयन दर्ता हुने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *