‘राना थारु’लाई छुट्टै जातिमा सूचीकृत गराउने नारदमुनी राना ‘थारु कोटा’बाट उम्मेदवारी दिँदै

नेकपा एमाले सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। दशौं महाधिवेशनमा थारु समुदायका लागि ६ वटा कोटा छुट‍्याइएको छ। तर हालसालै थारुबाट अलग सूचीकृत भएको राना थारु समुदायका उनी थारु कोटाबाटै उम्मेदवारी घोषणा गरेका हुन्।

केपी ओली निकट मानिने उनको उम्मेदवारीले थारु नेताहरुमा केही न केही प्रभाव पार्ने बताइएको छ। नारदमुनी रानाले नै राना थारुलाई छुट्टै आदिवासीमा सूचीत गर्न प्रमुख भूमिका खेलेका थिए। उनले लामो समयदेखि छुट्टै जातिको रुपमा सूचीकृत गराउन सरकासँग पहल गरेका थिए। त्यस क्रममा उनको टोलीले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसमक्ष ज्ञापनसमेत बुझाएका थिए।

थारुबाट अलग गाराउने प्रमुख भूमिका खेल्ने नारदमुनी कुन मुखले थारु कोटाबाट उम्मेदवारी घोषणा गरे भन्दै यतिबेला थारु नेताहरु जिल्ल परेका छन्। ‘हामी सकेसम्म उहाँको उम्मदेवारी थारु कोटाबाट हुन दिन्नौं,’ एक थारु नेताले थारुवानसँग भने, ‘एकृकीत हुने बेला उहाँ हामी थारु होइनौं अलग्गै हौं भन्दै हिँड्ने। छुट्टै जाति सूचीकृत भएपछि त थारु कोटाबाट लड्नै मिलेन नि।’

उनको उम्मेदवारी थारु कोटाबाट हुन्छ हुँदैन त्यो भने शुक्रबार थाहा हुनेछ। एमालेको दशौं राष्ट्रिय महाधिवेश आजदेखि चितवनमा सुरु हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *