पीडित किसानलाई ३० हजार रुपैयाँ र एक महिनाको खाद्यान्न उपलब्ध गराउन माग

नेपाली कांग्रेसको राजापुर नगर समितिले बाढीबाट पीडित भएका किसानलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले बाढीबाट पीडित भएका किसानहरुलाई प्रत्येक घरधुरीलाई ३० हजार रुपैयाँ राहत दिनुपर्ने र एक महिना पुगग्नेगरी खाद्यान्न उपलब्ध गराउनुपर्ने माग गरेको नगर सचिव सिताराम थारुले जानकारी दिए।

उनका अनुसार अविरल वर्षका कारण गत ३१ असोजमा आएको बाढीले राजापुर नगरपालिकाको १० वटा वडामध्ये वडा नं. १ को टिहुनी, झबही, हिमालीपुर, मुरगहुवा, चन्दौरा, सोनपुर, छोट्की दौलतपुर, बड्का दौलतपुर, वडा नं. ३ को नंगापुर, तिघ्रा, चख्खापुर, टेह्रिया, प्रयागपुर, सेन्दुरा, वडा नं. ४ संर्घषनगर (छेडिया), र वडा नं. ७ भालुभाटा वडा नं १० मझराको केही गाउँ डुबानमा परी बालीनाली तथा पुशधन बाढीले बगाएको थियो।

बाढीले अर्बौंको धन सम्पत्ति नस्ट हुँदा हजारौं घर परिवार विस्थापित एवं विचल्लीमा परेका छन्। भोकमरी पर्नुका साथै स्वच्छ खानेपानीको अभावमा रोग प्रकोप फैलिने प्रबल सम्भावना बढेकाले पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

निर्णयमा भनिएको छ- दुई हप्ता बितिसक्दा पनि यस जनताको पीडादायी अवस्थामा राजापुर नगरपालिकाले कुनै किसिमको राहत तथा क्षतिपूर्तिको ब्यवस्था गर्न नसकेकाले तत्काल समयमै पीडित किसानलाई प्रत्येक घरधुरी अनुसार ३०,००० (तिस हजार)को दरले रकम र एक परिवारलाई १ महिना पुग्नेगरी खाद्यन्न यस राजापुर नगरपालिकाले राहत तथा क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने मागसहित नेपाली कांग्रेस राजापुर नगर कार्यसमितिले सर्वसमत निर्णय गर्दछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *