एमाले महाधिवेशनमा थारु कोटाबाट पनि प्रतिनिधि छानिने, यस्तो बनाइँदैछ प्रावधान

नेकपा एमालेले देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट दशौं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि छान्ने भएको छ। तीमध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयन हुने मापदण्ड तय गरेको हो। जसमा ३३ प्रतिशत महिलासहित दलित, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ।
प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रति निर्वाचन क्षेत्र १५ सय पार्टी सदस्य बराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने भूगोलबाट ११ सय ९६ जना र प्रवासबाट २० जना छानिने छन्।

प्रत्येक जनसंगठनबाट पाँच जना प्रतिनिधि चयन हुने ज्ञवालीले बताए। निर्वाचन क्षेत्रमा १५ सय प्रतिनिधि भन्दा एक हजार सदस्य बढी भएपछि थप एकजना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित ६ जना प्रतिनिधि चयन हुनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *