थारुहरुले दशैंमा कुभिण्डोको बलि किन दिन्छन्?

नेपालीको महान चाड दशैं सबैको घरघरमा भित्रिसकेको छ । सबै जातजातिले यो पर्वलाई १५ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । यस लामो चाडलाई थारु जातिले भने “डश्या” भनी आफ्नै परम्पराअनुसार मनाउने गर्छन् । डश्या अर्थात् बडा दशैँ आगमन हुनुपुर्व थारु महिलाहरु घर लिपपोत गरी सफा पारेका हुन्छन् । डश्या मकै र जौँको जमरा राखेकै दिनदेखि सुरु हुन्छ ।

थारु समुदायले प्रयोग गर्ने मकैको जमरा

तर वास्तविक डश्या भने ढिक्रह्वा अर्थात् अष्टमी तिथिदेखि सुरु हुन्छ । पञ्चमी वा षष्ठीका दिनदेखि प्रत्येक घरका घरमूलीहरु एक करै मद्म (गुँड), एक झुप्पा मकै, एउटा गुन्द्री लिएर आफ्नो घर गुरुवाको घर बानधुप लिन जान्छन् र आफ्नो गृहदेवस्थलमा टाँगिएको झोलामा जतनसाथ राख्छन् । त्यसपछि घरका देवीदेवताहरुलाई चढाउन यही अक्षताको प्रयोग गरिन्छ ।

थारु समुदायमा प्रत्यक वर्ष गृहदेवस्थलमा स्थापित घोडाजस्तै देवतालाई पुनःस्थापित गर्नुपर्छ, जसका लागि घरमूलीहरु कुमाल समुदायले बनाएको उक्त देवता किनेर ल्याउँछन् । सप्तमीको दिन देवीदेवताहरुलाई चढाउने ढिक्री वाष्पीकरण गर्न पैनसटोपी (मूँज बाट बनेको हस्त निर्मित बस्तु) नजिकैको खोलामा गई धुन्छन् । अष्टमीको तिथिलाई थारुहरु ढिक्रह्वाको दिन भन्छन् । यो दिन देवीदेवताहका लागि सात प्रकारको ढिक्री बनाउनुपर्छ । गुले¥वा ढिक्री (बीचमा फुकेको गोलो आकारको), लठ्ठी ढिक्री, ब्वाझा ढिक्री (पाँच वटा लठ्ठी आकारको ढिक्रीलाई दुई ठाउँमा डोरीले बाधेको जस्तो आकार)जस्ता सात प्रकारका ढिक्री दशैँमा बनाउने गरिन्छ ।

दशैँमा बनाइने ढिक्रीको परिकार

रात परेपछि घरमूली नुहाएर गृहदेवस्थलका सबै देवीदेवताहरु मैयाँ, खेख्री, लागुवास, गुर्वावा, घोडाका रुपमा रहेको देवतालाई नुहाइदिन्छन् । पुरानो चढाएको माटाको घोडालाई नयाँ पार्न घोडाको ठाउँमा नयाँ घोडा राखिन्छ । देवीदेवताहरु पाटामा (देवता राख्ने ठाउँ ) स्थापित हुन्छन् । घरमूलीले नयाँ बह्रानी (फूलपाती) र बेलको सानो हाँगा ल्याएर आफ्नो घरको उत्तरतर्फको कुनामा राख्छन् । डिउह्रार (देवस्थल)मा शास्त्रीय तालअनुसार मादल बज्न थाल्छ । घरमूलीले पातमा सबै प्रकारका ढिक्री राख्दै माथिबाट पातले ढाक्दै सबै पाटाका देवातालाई चढाउँछन् । बेब्री (थारु जातिले देवीदेवतालाई चढाउने एक प्रकारको फूल) चढाउँछन् । मद्म (रक्सी) वानधुप चढाउँछन् । थारु लोक विश्वासअनुसार आजको रात पितृहरु प्रशाद खान आत्माको रुप लिएर आउँछन् ।

आजको रात थारु नर्तक नर्तकीहरु अहोरात्र सख्या पैँया नाच्छन् । यो नाचलाई सामान्य नृत्यका रुपमा हेरिनु हुँदैन भन्छन् थारु सस्ंकृतिविद्हरु । देवीदेवताहरुको नाम लिँदै गाइने भएकाले देवीदेवताको नाम सिकाइदिन देशबन्द्या गु¥वा नृत्यस्थलमा रहन्छन् । यो सख्या पैँया गाउँको महट्वाँको घरको आगँनमा नाच्छन् । वास्तवमा संख्या र पैँया नृत्यको उद्भवको बारेमा पौराणिक आख्यान छ । भारतको अयोध्या अर्थात् वज्र प्रदेशबाट उदय भएको सख्या र पैँया नै लोपान्मूख हुन् तर नेपालका डंगौरा थारुहरुमा प्रचलनमा रहनु अनुसन्ध्यय छ भन्छन् सस्ंकृतिविद् अशोक थारु ।

सख्या नाच नाच्दै थारु नर्तक नर्तकीहरु

नवमीको ब्रह्ममुहुर्तमा दिन घरमूलीले कोह्राको (कुभिण्डो) भेँडा बनाउँछन् । काठको छेस्कोले सिंह, मुख, चार वटा खुट्टा बनाउँछन् । थारु लोक सस्ंकृतिअनुसार मानव बलीको रुप कुभिण्डो बलीमा आएको हो यसलाई सकारात्मक रुपमा लिने गरिन्छ । बली दिइसकेपछि त्यसलाई मूलद्धारको सिधैँ माथि छानामा फालिन्छ ।

पूजा गर्दै घर गुरुवा

नवमको बिहान घरकी कन्याले बायाँ हातमा कलश लिएर कलशको पानी चुहाउँदै देवता राखेको ठाउँमा जान्छिन् । देवताको अगाडि नयाँ बढानी राख्छिन् । मध (रक्सी) चढाइन्छ । पुनः घरमूली नुहाएर घर बाहिरका देवताहरुलाई भालेको भोग दिई सबै देवताहरुलाई जमरा बेब्री चढाइन्छ । पितृहरुलाई श्राद्ध “पिट्टर डेना” दिइन्छ । श्राद्धमा चढाइएको भात तरकारी छोरा नातीले मात्र खान हुने थारु गुरुवाहरु बताउँछन् । श्राद्धमा माछा, सिल्टुङ्ग र पवैँको साग चिचिण्डो आदि बेजोडा तरकारी हुन्छ । नवमीको दिनलाई गवल्या टिकाको दिन पनि भन्ने गरिन्छ । जुन दिन घरघरबाट गरढु¥याहरु करैमा (रक्सी राख्न प्रयोग गरिने माटाको भाँडा) रक्सी, जमरा बेब्री लिएर महट्वाँको घरमा जम्मा हुन्छन् । सबै जना जम्मा भएर महट्वाँलाई बेब्रीको माला, जमरा लगाइदिन्छन् । सोही अवसरमा मादलेहरु मादल बजाउँछन् भने कोही थारु महाभारत (वर्कीमार) गाउँदै ग्रामीणदेवस्थल जान्छन् । वर्कीमारको केही अंश–

बेबुरी बिना एक हम का चढावै,विना बुद्धी टुम्हारे पाउ
ढनपटी सरसोटी टोर हिरड वैस री डेहो
भगमोटी शरन लेहनुँ टोर नाम, डबी ढरम डबी बन्डन बा

अर्थात–वेवुरी फूल नचढाएर म अल्पवुद्धिवालाले तिमीलाई चढाउँ धनकी र विद्माकी देवी ? जे होस् तिमी मेरो हृदयमा बास गरिदेऊ । हे भगवती ! म तिम्रो शरणमा रहन पाउँ । म तिम्रो धर्मको ,नामको बन्धनमा बाधिँन चाहन्छु ।

दशैँ सदभाव, भाइचारा र खानपिनको पर्व भएकाले जमरा र वेव्री आदानप्रदान पछि मटावाँको घरमा गई, माछा, मासु, ढिक्री, जाँड खान दिएर महट्वाँकी पत्नीले स्वागत गर्छिन् । आज को दिन नवविवाहित दुलाहाहरु गुन्द्रि, कुखुरा, रक्सी लिएर आफ्नो ससुराली टीका थाप्न जान्छन जसलाई थारुहरु “जिउरा लगाए जैना” भन्छन् ।

दशमी, थारुहरु यो दिनलाई राजाको टीकाको दिन भन्छन् । आज थारु समदायभित्र रहेका प्रतिष्ठित ब्यक्ति, डेशबन्ढया (गाउँको मटावाँ मुख्य मान्छे), घरगुरुवा (घरको धार्मिक कार्य गरिदिने ब्यक्ति) कहाँ टीका लगाएर आफन्तकहाँ टीका थाप्न जाने दिन हो ।

महट्वाँको घरमा टीका थाप्दै थारु नर्तकीहरु

दशमी डश्याको अन्तिम दिन भएकाले अन्य विधिविधानको समापन भए पनि सख्या पैँया नृत्य चलिरहन्छ । केही वर्ष पहिलेसम्म एक महिनासम्म नाचिने यो नृत्य अचेल हराउँदै गएको देखिन्छ । कारण थारुहरुमा आफ्नो लोक नृत्य गीतप्रति बितृष्णा जाग्नु हो । (थारुवान अर्काइभबाट)




Leave a Reply

Your email address will not be published. Required fields are marked *