लेखीलाई एमालेमा फर्काउन ओलीको के भूमिका थियो? एक विश्लेषण

नेता राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन्। एमाले परित्याग गरेको एक दसकपछि उनी फेरि आफ्नै घर फर्किएका हुन्। आन्तरिक द्वन्दवमा अल्झेको एमालेभित्र भने लेखीलाई पहिलेको जस्तो सहजता पक्कै मिल्ने छैन।

लेखीले ४ दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए। जुन शक्ति निर्माणका लागि उनले मधेसी दलमा आबद्ध भएका थिए, त्यो लक्ष्य पार्टीले नभेटाएको लेखीको आरोप छ। बरु मधेसी दल पहिलेभन्दा पनि गएगुज्रेको उनले सार्वजनिकरुपमै अभिव्यक्ति दिइसकेका छन्।

‘वकल्पिक शक्ति निर्माणका लागि म सद्भावना पार्टी हुँदै लोसपासम्म आबद्ध भएको थिएँ। तर वैकल्पिक शक्ति निर्माणभन्दा पनि पार्टीहरु अन्य कुरामा बढी अल्झेको जस्तो लाग्यो। पहिलेभन्दा पनि गएगुज्रेको अवस्थामा पुग्यो,’ राजीनामापछि उनले भने।

लेखी एमालेमा रहँदा विभिन्न पार्टीभित्रका विभिन्न संगठनहरुमा रहेर काम गरेका थिए। उनी सप्तरी-काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्ष भएर काम गरे, लोकतान्त्रिक आदिवासी महासंघको सचिवालयमा रहेर काम गरे, युव संघको प्रचार प्रसार विभाग र जनवर्गीय संगठनमा रहेर उनले काम गरेका थिए। पहिलो संविधानसभा विघटन भएपछि उनी असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेका थिए।

त्यसबीचमा उनले आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। थारु कल्याणकारिणी सभामा रहेर होस् या आदिवासी जनजाति महासंघमा होस्, उनले आदिवासीका सबालमा अग्रणी भूमिका खेले।

राष्ट्रिय राजनीतिमा लगाव राख्ने लेखीले सामाजिक संस्थामा मात्र रहेर बसेनन्। आफ्नै नेतृत्वमा नागरिक समाजवादी पार्टीको स्थापना गरे। तर विसं २०७४ वैशाख ५ गते दस बुँदे सहमति गर्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीसँग एकता गरे।

सहमतिमा उनले थरुहट राज्य स्थापना र सीमांकनसहितको संविधान संशोधन गर्नुपर्ने बुँदा समावेश गरेका थिए। पछि सद्भावना राजपा, जसपा हुँदै लोसपामा परिणत भएको छ। यसबीचमा उनले सप्तरी-१ (क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए। उनी एमालेका सत्यनारायण मण्डलसँग पराजित भएका थिए। प्रदेशसभामा पराजित भएपछि पार्टीले उनलाई प्रदेश २ को योजना आयोगमा सदस्य नियुक्त गरेका थिए।

लोसपा छाड्दैगर्दा उनलाई धेरै प्रस्तावहरु आए। उपेन्द्र यादवले जसपामा बसे ६ महिनाका लागि मन्त्री बनाइदिने आश्वासनसमेत दिएका थिए। माधव कुमार नेपालले आफ्नो पार्टीमा ल्याउन केन्द्रीय नेताहरु नै परिचालन गरेका थिए। तर उनको केमेस्ट्री बढी ओलीसँग मिल्ने भएकाले पनि अन्य पार्टी नरोजेको उनी निकट नेताहरु बताउँछन्।

एमालैमै किन फर्किए लेखी?

राजकुमार लेखीलाई पार्टीमा फर्काउन एमालेका नेताहरुले ठूलै भूमिका निर्वाह गरे। एमाले परित्याग गरेदेखि उनलाई पार्टीमा फर्काउन एमाले नेताहरुले ठूलै लिबिङ गरेका थिए। एक दसकपछि त्यो प्रयासले सार्थकता पाएको छ।

एमालेमा आदिवासि जनजाति नेताहरु खाँचो रहेको र त्यसका लागि लेखी उपयुक्त पात्र ठानेरै पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मले लबिङ गरेका थिए। ओली प्रधानमन्त्री रहँदा प-क पटक लेखीलाई बालुवाटार बोलाएर एमालेमा फर्किन आग्रह गरेका थिए।

त्यतिमात्र होइन, सुवासचन्द्र नेम्वाङ, पृथ्बी सुब्बा गुरुङलगायत नेताहरुले पनि उनलाई एमाले फर्काउन लबिङ गर्दै आएका थिए। एमालेमा फर्किन लेखीले भने उपयुक्त समयको खोजीमा थिए। यतिबेला एमाले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। यही मौका नै उनको लागि उपयुक्त भएको उनी निकट नेताहरु बताउँछन्।

एमाले स्रोतका अनुसार पार्टीमा लेखीले केन्द्रीय सदस्यको पोर्टफोलियो, अगामी चुनावमा सप्तरीबाट टिकेट पाउने आश्वासन पाएका छन्। ‘त्यतिमात्र होइन, सम्भवतः उनलाई भातृसंस्था आदिवासी लोकतान्त्रिक महासंघ वा थारु लोकतान्त्रिक मञ्चको नेतृत्व उनले गर्नसक्ने सम्भावना छ,’ स्रोत भन्छ।

थारु नेताहरुमा खैलाबैला

आदिवासी थारुहरुले आफ्नो माग मुद्दा सम्बोधन नहुनुमा सबैभन्दा बढी दोष केपी ओलीलाई लगाउने गर्छन्। टीकापुर घटना, रेशम चौधरीलगायतका मुद्दामा पनि ओली मौन बस्नुले थारुहरु उनलाई बढी दोषी ठान्छन्। यस्तो अवस्थामा लेखीको एमाले प्रवेशलाई लिएर थारु समुदायका नेताहरु तरंगित भएका छन्। केहीले ‘लेखी पनि ओलीको पिछलग्गु बन्ने निश्चित’ भएको आरोप लगाउन थालेका छन्। हुन त एमालेभित्रका थारु नेताहरुले यही आरोप खेप्दै आएका छन्।

लेखीले भने एमालेमा रहेर धेरैथोक गर्नसक्ने बताउँछन्। उनलाई लाग्छ, एमाले बाहिर रहँदा उनको आवाज कम सुनिन्थ्यो। ‘एमाले बाहिर रहँदा मेरा कुराहरु कम सुनिन थालेको महसुस मैले गरेको थिएँ। राजीनितक मागको सम्बोधन प्रमुख दलमा नआइकन हुने सम्भावना पनि मैले देखिनँ,’ उनले भने, ‘एमालेबाट मैले आदिवासीका मुद्दा, उत्पीडनमा परेका समुदायका मुद्दा र थारुहरुको मुद्दालाई राम्रोसँग उठान गर्न सक्छु,’ उनले भने।




2 thoughts on “लेखीलाई एमालेमा फर्काउन ओलीको के भूमिका थियो? एक विश्लेषण

  1. हिलोबाट निस्केर फोहोरको डंगुर मा पुगेकोमा बधाई छ ।अब थारुले तपाईंलाई कहिल्यै पत्याउँदैनन् – ढुक्क हुनुस् । जय थरुहट !

Leave a Reply to फिरोज खान Cancel reply

Your email address will not be published. Required fields are marked *