एमाले बाराको अध्यक्षमा देव नारायण चौधरी मनोनित, वलवीर चौधरी समूह असन्तुष्ट

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी बारामा अध्यक्षलगायत पदाधिकारी परिवर्तन भएका छन्। पार्टीलाई मजबुत बनाउन १० बुँदे सहमति, माओवादीबाट आएका तथा विभिन्न गुट, समूहका मानिसलाई मिलाएर लैजान विभिन्न पदाधिकारीहरु मनोनित भएको प्रदेश २ का अध्यक्ष ज्वाला साहले बताए।

१० बुँदे सहमतिअनुसार सुन्दर श्विकर्मा अध्यक्ष हुनुपर्ने भए पनि विकले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि उपाध्यक्ष देवनारायण चौधरीलाई कार्यदलले अध्यक्ष बनाएको छ। अन्य पदाधिकारी भने समीकरण र पार्टीको आवश्यकतालाई मध्यनजर गरी मनोनयन गरिएको बताइएको छ।

त्यसैगरी उपाध्यक्षमा बिनोद साहलाई मनोनय गरेको छ। सचिवमा मोहम्मद समिर रहेका छन्। त्यस्तै गोविन्द पौडेललाई सहसचिवको जिम्मेवारी दिइएको छ। प्रदेश अध्यक्ष साहको अध्यक्षतामा बसेको कार्यदलको बैठकले सो निर्णय गरेको हो।

अध्यक्ष बनाइएका चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं ४ बाट उम्मेदवार र उपाध्यक्ष साह कलैया उपमहानगरपालिकाको मेयर पदमा झिनो मतान्तरले पराजित भएका थिए। सचिव समिर भने यसअघि नेकपा माओवादीमा थिए। उनी माओवादीबाटै प्रदेश नं. २ को प्रदेशसभा समानुपातिक सदस्य थिए।

एमाले र माओवादी विभाजन हुँदा एमाले रोजेका अफरोजको पद खारेज भएको थियो। उपाध्यक्ष मनोनित भएका विनोद साहले कार्यदलले गरेको निर्णय नमान्ने बताएका छन्। आफू प्रदेश कमिटी सदस्य भए पनि जिल्लाको उपाध्यक्ष पदमा मनोनित गरेको भन्दै नबस्ने बताएका छन्। ‘आफूभन्दा जुनियरको अध्यक्षतामा उपाध्यक्ष पद स्विकार गर्न नसकिने बताएका छन्।

साहले आफूलाई नसोधी निर्णय गरिएको बताउँदै बलबिर चौधरी अध्यक्ष बनाइएमात्र आफू उपाध्यक्षमा बस्ने अन्यथा नबस्ने बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *