विजय गच्छदार जब भावुक हुँदै भने- एउटा थारुको छोरामाथि राजनीतिक प्रतिशोध साँधियो

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको जिकिर गरेका छन्।

उनले आफूले सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए।


‘सरकारको गुरूयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरूयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन।’
उनले राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मात्रै मुछेर आफूमाथि मुद्दा चलाईएकाले त्यस सम्बन्धमा यथार्थ सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक भएकाले पत्रकार सम्मेलन आयोजना गर्नुपरेको बताएका छन्।

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी तबरले म समेतलाई प्रतिवादी बनाई मिति २०७६ माघ २२ गते विशेष अदालत समझ मुद्दा दायर गरेपछि करिब डेढ वर्षको अन्तरालमा कुनै पनि सार्वजनिक सञ्चार माध्यममा आईनँ। यस सम्बन्धमा आफ्नो धारणा, प्रतिक्रिया र दृष्टिकोण पनि राखेको थिईनँ। यसबीच पार्टी र अन्य सामाजिक गतिविधिहरुमा प्रत्यक्ष रुपमा सहभागी पनि भएको थिईनँ। आज म जनतालाई सर्वशक्तिमान जनार्दन मानेर यहाहरुको माध्यमबाट आफ्ना कुराहरु भन्न लागिरहेको छु’, उनले भने।

‘म विशेष अदालतमा २०७५ असार ३० गते हाजिर भएको हुँ । न्यायालयबाट मलाई धरौटीमा रिहा गरिएकोमा न्यायालयप्रति सम्मान व्यक्त गर्दछु। वास्तवमा न्यायालयवाट न्याय पाएपछि मात्रै सार्वजनिक रुपमा आफ्ना कुरा राख्ने सोचमा थिएँ। तर राजनीतिक प्रतिशोध र कत्सित उद्देश्यबाट झुटा मुद्दा लगाएर जीवनभर स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्र भएको छ भने निष्कर्षमा मैले आफ्ना यथार्थ कुरा जनसमक्ष राख्ने जमर्को गरेको हुँ। यो मेरो दायित्व पनि हो।’

आफ्नो पचास वर्षे राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको षड्यन्त्रको फलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको उनले जिकिर गरेका छन्। ‘जुन कुरा मलाई आरोपित गर्दा आरोप पत्रमा लगाईएका आरोपका साथ संलग्न प्रमाण कागजातहरू अध्ययन गरिएमा मेरा विरुद्ध लगाईएका आरोपहरु केवल पड्यन्त्र मात्र हो भन्ने कुरा पुष्टि हुनेछ’, उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *