संविधान दिवसमा रेशम चौधरीको कविता- थारू हारेको छ !

रेशम चौधरी

अहिले डलरसँग भारु हारेको छ
डलर र भारुको भीडन्तमा
थारू हारेको छ ।
डलरहरु छाती ठोक्छन्
भारुहरु मुड्की बजार्छन्
भित्रभित्रै डलर भारु मिलेकै छन््
डलर र भारुको बीचमा
नेपाली रुपैयाँको अवमूल्यन ?
नेपाली भएर अवमूल्यित हुनु पनि त भुलै रहेछ
नेपाली भएरै त आज थारु हारेको छ ।

पहिले मुग्लानमा भीड थियो, कमाउनेहरुको
अहिले यूरोप, अमेरिकामा छ ।
हिजो मुग्लानमै पनि बर्चस्व थियो
आज सात समुद्रपारी छ ।
हामी दुवैतिर कमजोर छौं
कमजोर हुनु पनि त भुलै रहेछ
कमजोर भएरै त आज थारु हारेको छ ।

थारु चुपचाप थियौं, सबै स्वीकारेकै थियौं
बस्तीमा आई तिमीले सिकायौ, चेतना दियौ
अधिकारको परिभाषा बुझायौं
बदलाको आतिथ्यमा, दालभात दियौं
दारु पिलायौं, मासु खुवायौं
क्रान्तिकारीलार्ई स्वीकार छ भन्यौं
डकारी डकारी खायौ, थपिथपि खुवायौं
जे माग्यो त्यही दियौं, बिश्वास गर्‍यौं
बिश्वास गर्नु पनि त भुलै रहेछ
विश्वास गरेरै त आज थारु हारेको छ ।

बल्ल बोली फुट्दै थियो
बोल्दै थियौं आफ्ना पहिचानका लागि
सुनेनौ हाम्रा आवाज तिमीले
नसुनिकनै गोली बर्सायौ
तर्साउँदैछौ अहिलेसम्म !
गोली खाएर पनि चुप छौं ।
चुपचाप सहनु पनि त भुलै रहेछ
सहेरै त आज थारु हारेको छ ।

के बोकाएनौ हामीलाई ?
झोला बोकाएनौ कि बन्दुक ?
झोला बोक्यौं
बन्दुक बोकेर सहिद भयौं
तिमीले देश हाँक्यौ
हामी चुपचाप घर फर्कियौं।
हाम्रो मौनता तिम्रो लागि विजय भयो
तिमी सिंहदरबार छिर्यौ
हामी झुपडीमा फक्र्याैं
झुपडीमा फर्किनु पनि त भुलै रहेछ
फर्किएरै त आज
थारु हारेको छ ।

सय रुपैयाँको तमसुक लाख बनायौ
मालपोत बुझाउने बहानामा सारा सम्पत्ति लुट्यौ
अक्षर नजानेकै निहुँमा ल्याप्चे ठोकायौ
जग्गा जमिन सबै हडप्यौ
हामी कमैया बनेर
दासता स्विकारी रहयौ“
स्विकार्नु पनि त भुलै रहेछ
दासता स्वीकारेरै त
आज थारु हारेको छ ।

संविधान बन्नेबेला अधिकार माग्यौं
सबैले पाए, हामीले पाएनौं
कसैले रोजी रोजी लिए
हामीले पनि माग्यौं तर पाएनौं
कुटाई खायौं
कुटाई पिटाइ सब सह्यौं
सहनु पनि त भुलै रहेछ,
सब सहेरै त
आज थारू हारेको छ ।

जलाउनेहरु, गोली ठोक्नेहरु
हाम्री छोरीचेली बलात्कार गर्ने जल्लादहरु
बस्ती जलाउनेहरु सबै पूजिएकै छन्।
तिनलार्ई तिम्रो आशीर्वाद छ ।
हामी अन्याय सहेर चुपचाप छौं
कोही जेलमा छौं
कोही परदेशमा छौं
तिम्रो न्यायिक आशातित नजरलाई हेर्दै
आशा गर्नु पनि भुलै रहेछ
आशा गरेरै त
आज थारु हारेको छ ।

माग त भौगोलिक सांस्कृतिक
पहिचानसहित प्रदेशको हो !
तर जातीय राज्यको झुठो आरोप लगाएर
संसार झुक्याउँदैछौ
र पनि हामी चुपचाप छौं
आरोपित भएर सहनु पनि त भुलै रहेछ
आरोप सहेरै त
आज थारु हारेको छ ।

हामी तरकारी पनि बाँडेर खान्छौं
बाँडेर खानु हाम्रो चलन हो
अर्काको भाग खोसेर खाने नियतै छैन
तिमी हाम्रो भाग जबर्जस्ती खोसेर
कुपुकुपु खाँदैछौ
हामी टुलुटुलु हेर्दैछौं
र पनि चुपचाप छौं।
खोसुवामा पर्दा समेत सहेकै छौं
अन्याय सहनु पनि त भुलै रहेछ
अन्याय सहेरै त आज
थारु हारेको छ ।

तिमीले झुठो बोले साँचो हुन्छ
हामीले साँचो बोले झुठ ?
झुठो बोलेरै सरकार चलाउ“दैछौ
हामी झुठो आश्वासनमै मख्खै छौं
अझै तिम्रो बिश्वासमा अल्झिरहेका छौं
बिश्वास नै हाम्रो पहिचान हो !
बिश्वास गर्नुपनि त भुलै रहेछ
बिश्वास गरेरै त
आज थारु हारेको छ ।

तिमीलार्ई थाहा छ, थारूले दारु खान्छ
दारु खाए नशा चढ्छ
नशा चढे उन्माद ?
उन्माद्ले उन्मुक्ति खोज्छ
उन्मुक्तिको उत्तर क्या हुन्छ
थाहा छ ?
त्यसपछि भन्ने मौका पनि मिल्ने छैन
थारु हारेको छ ! थारू हारेको छ !!
थारू हारेको छ !!!

न्यायालय – कहाँ छ ?

श्रीमान !
निर्दोषलार्र्र्र्ई न्यायदिने न्यायालय कहाँ छ ?
वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?
दासताको जञ्जीरबाट फुत्किने जुक्ति कहाँ छ ?
फैसलाको हथौडा ठोकेर भन्नुस् – श्रीमान ?
भागौलिक सांस्कृतिक पहिचानको परिचय कहाँ छ ?
श्रीमान ! निर्दोषलाई न्यायदिने न्यायालय कहाँ छ ?
वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

सयौं वर्षदेखि कमैया बन्नेहरुलार्ई
विनाक्षतिपूर्ति घोक्राएर
शैशवकालदेखि जुठो भाँडा माझ्न लगाई
कम्लरीको रुपमा यौनदासी बनाएर
दिनभरिको अथक परिश्रमबापत
आधापेट छाकको रासन दिने
ती क्रुर मालिकहरुलार्ई
दास मुक्तिको प्रमाणपत्र दिने नाइकेहरुलार्ई
विनासजाय उन्मुक्ति दिने
सामन्ती सरकारका विरुद्ध
मुद्दा हाल्ने अदालत, कहाँ छ – श्रीमान ?
त्यसैले हाम्रो सोधाइ छ
श्रीमान ! निर्दोषलार्ई न्यायदिने न्यायालय कहाँ छ ?
वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

बलात्कृत छोरीको क्रन्दन चित्कारलार्ई
टुलुटुलु हेर्न विवश हुने
ती निरिह बाबुआमाका नजरहरु !
प्रतिवादका लागि आँखा जुधाउ“दा मात्रै
बापतमा पिटिएका
सयौं कोर्रा चोटको दृश्य नियालेकी
सन्तानले पाएका चरम पीडाको
कहिल्यै नओभाउने आँखाले न्याय खोज्दै
न्यायिक आशामा भौंतारिरहेकी ती बुढी आमालार्ई
बदला लिने चौतारो, कहाँ छ – श्रीमान ?
त्यसैले हाम्रो सोधाइ छ
श्रीमान ! निर्दोषलार्ई न्यायदिने न्यायालय कहाँ छ ?
वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

मस्तभै मदिराको नशामा लुट्टिएका
झुम्रा, सखियाका तालमा
पाहुनाको आगमन होस् या चाडपर्वको निहुँमा
पटक पटक बलात्कृत भएको संस्कार !
उँभो टेक्न पनि मन पराउँदैन
उँधो झर्न पनि रुचाउँदैन
बरु, आफ्नै आँगनमा खेल्न चाहन्छ
आफ्नै खेतबारीमा रमाउन चाहन्छ
आफ्नै भौगोलिक सांस्कृतिक पहिचानको
पारम्परिक फेटामाथि
तारन्तार धावा बोलिरहेपछि
निश्कलंकित नजरहरुले पाउने न्याय कहाँ छ ?
त्यसैले हाम्रो सोधाई छ
श्रीमान ! त्यो पहिचान फूल्ने देश – कहाँ छ ?
पहिचानसहितको संस्कृति खुल्ने – प्रदेश कहाँ छ ?

लाखौं लाटा जिब्राहरुको माझमा
एउटा चतुर जिब्रोले न्यायको हुँकार भट्याँउदा
फिस्स मुस्कुराउन पुगेका मुस्कानहरुले
चेलीको कारुणिक चित्कारको
आफू कुटिएको
स्वास्नी लुटिएको
पिटिएको बदला भावमा
कस्सिएको मुट्ठीले घटेको
दुखित दुर्घटनाको ताज भिडाउँदै
मृत्युपत्रको घोषित सरकारी धम्कीसँगै
घिटिघिटी भै जबर्जस्ती
निर्वासित जीवन जीउन बाध्य पारिएको
निर्दोषले न्याय पाउने न्यायालय – कहाँ छ ?
श्रीमान ! वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?
दासताको जञ्जीरबाट फुत्किने जुक्ति कहाँ छ ?
फैसलाको हथौडा ठोकेर भन्नुस् – श्रीमान ?
भौगोलिक, सांस्कृतिक पहिचानको मुक्ति – कहाँ छ ?
निर्दोषलाई न्याय दिने, न्यायालय कहाँ छ ?
वर्षौंदेखि शोषित पीडितको उन्मुक्ति कहाँ छ ?

सरकार

पोहोरको कर्फ्यूले घरमा आगो लायो सरकार !
यसपालीको कर्फ्यूले मनमा आगो लायो सरकार !
आगो लाउने, कर्फ्यू लाउने, यति त हो तिम्रो काम ?
नमिल्ने सुर सप्तकमा, कस्तो गाना गायो सरकार ?

तिमी खान्छौ बाँडीचुँडी, टुलुटुलु हेर्छौं हामी
तीन भाइको पेवा भयो, धन्य हाम्रो नेपाल सरकार !
पालो फेर्ने श्रीपेचमा, रत्न बुट्टा भर्छौं हामी
पालैपालो शिरमा सजाई, कस्तो शासन गर्छौ सरकार ?

तिम्रा गुण्डा असल मनु, हाम्रा असल आतङ्ककारी
कत्ति लुट्छौ हुर्मत हाम्रो, कति बन्छौ ब्यभिचारी ?
सुक्यो भने पातपतिङ्गर, झिल्कोले नै बस्ती जल्छ
अत्याचारको विरुद्धमा, उठे जनता देश बल्छ

जनतालार्ई झुठ बोली, कत्ति आसन फेर्छौ सरकार ?
नढाँटेरै भन बरु, कहिलेसम्म हेर्छौ सरकार ?
जिन्दावाद र मुर्दावादको, कुरा कहिले टेर्छौ सरकार ?
पहिचानसहित संघीयताको, प्रदेश कहिले फेर्छौ सरकार ?
चित्त बुझाऊ हाम्रो पनि, निम्तो दिउँला साकेलामा
स“गस“गै नाचौंला नि कौडा, टप्पा, सखियामा
सोरठीमा बज्ला मादल, तिम्ले पनि कम्मर भाँचे
कति खुल्ला हाम्रो नेपाल बाँडीचुँडी माया साँचे ?

यति राम्रो मिलनमा, कहिले स“गै हुने सरकार ?
आदिवासी, जनजाति, कहिलेसम्म रुने सरकार ?
इतिहासको पापको घडा, भन कहिले धुने सरकार ?
नेपाली भई नेपालमा, हामी कहिले जीउने सरकार ?

पोहोरको कर्फ्यूले, घरमा आगो लायो सरकार ?
यसपालीको कर्फ्यूले, मनमा आगो लायो सरकार ?
आगो लाउने, कर्फ्यू लाउने, यति त हो तिम्रो काम ?
नमिल्ने सुर सप्तकमा, कस्तो गाना गायो सरकार ?




One thought on “संविधान दिवसमा रेशम चौधरीको कविता- थारू हारेको छ !

Leave a Reply to Prabin chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *