सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्च‍क जित

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ। पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो। ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो। ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भए पनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए। रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाए।

कुशल भुर्तेल र आसिफ शेख क्रमश: १५ र ३० रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए। आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए। त्यस्तै कुशल मल्ल १ रनमै आउट भए। पवन सर्राफ भने शून्यमै आउट भए।

पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २/२ विकेट लिए। त्यस्तै नोसैना पोकनाले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *