३३ वर्ष कहाँ थिए लोकुन थारु? जसको आगमनले खुसी फर्कियो

प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ। जानकी गाउँपालिका-७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए।

प्रहरीले उनलाई भारतबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको हो। गत भाद्र ९ गते प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उनको विहारबाट उद्धार गरी परिवारको जिम्मा लगाएको जानकारी दिए।

भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दीप यादवको समन्वयमा उनको उद्धार भएको हो। हालको उनी सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहे पनि निजसँग भिडियो च्याटमा कुराकानी गर्दा उनले आफ्नो घर टीकापुरको मुनुवा आसपास रहेको बताएका थिए।

त्यसपछि उनको फोटो सहित उक्त गाउँघरमा आफन्तजन पत्ता लगाउन इलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको थियो। उनलाई भाद्र ९ गते बेलुकी करिब ६ बजे सन्दीपले गयास्थित नेशनल हाइवेमा फेला पारेपछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए।

तर १० गते बिहान उनी त्यहाँबाट निस्की हिँडेकोमा सन्दीपले पुनः खोजतलास गरी आफ्नो घरमा राखेका थिए। प्रहरीले उनको घर ठेगाना र आफन्तको एकीन गरेपछि भारतीय प्रहरी र सन्दीप यादवको सहयोगमा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट उनलाई झिकाइ ३८ वर्षीय छोरा राम बहादुर डगौराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *