महाकाली तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत

भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए।

‘हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं। तर हामीसँग यस्तो कुनै खबर आएको छैन। विस्तृत विवरण आएको छैन। औपचारिक रुपमा केही आएको छैन। नेपालको आन्तरिक छानविन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन। अरु कुनै खबर छैन,’ उनले भने।

दार्चुला मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा व्यास गाउँपालिका-२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी खसेका थिए । भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले तुइनको डोरी निकालेपछि धामी खसेको प्रत्यदर्शीले बताउँदै आएका छन्।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानविन समितिले बुधवार बुझाएको प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको र भारतसँग कुटनीतिक पहलमार्फत छानविन गरी दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन भनिएको छ। विहीवार गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *