काठमाडौंमा थारुहरुले यसरी मनाउँदैछन् अष्टिम्की पर्व

काठमाडौंबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा अष्टिम्की मनाउन लागिएको हो। मूल आयोजक समितिका संयोजकसमेत रहेका शिव चौधरीका अनुसार थारुहरुको सँस्कृति प्रवर्द्धनका लागि अष्टिम्की मनाउन लागिएको हो। सोमबार विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा अष्टिम्की मनाइने उनले बताए।

अष्टिम्की कार्यक्रम सोमबार ४ बजेदेखि सुरु हुने बताइएको छ। संयोजक चौधरीका अनुसार एक घन्‍टा औपचारिक कार्यक्रम गरिनेछ। जसमा अष्टिम्की पर्वको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका कृष्णराज सर्वाहरीले मन्तव्य दिनेछन्। त्यसपछि कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका थारु आयोगका अध्यक्ष विष्णु चौधरीले अष्टिम्कीबारे आफ्नो धारणा राख्नेछन्।

कार्यक्रममा कुनै पनि वक्ताले भाषण भने गर्ने छैनन्। संयोजक चौधरीका अनुसार काठमाडौंका धेरै थारु चेलीहरु वर्तालुको रुपमा उपस्थित हुने र उनीहरुको अगाडि राजनीतिक भाषण नसुहाउने भएकाले एक जना पनि वक्ता नराखेको बताए। ‘डा. कृष्णराज सर्वाहरी र विष्णु चौधरीजीले अष्टिम्कीबारे भन्नुहुन्छ। त्यसबाहेक कुनै पनि वक्ता हुने छैनन्,’ उनले भने।

कार्यक्रम सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ। संयोजक चौधरीका अनुसार वर्तालुहरुलाई प्रसादका लागि थारु अगुवाहरुले स्वस्तफुर्तरुपमा आर्थिक सहयोग गरेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *