सांसद बनाएर मूल राजनीतिमा प्रवेश गराएका माधव नेपालप्रति शान्ता चौधरी किन आक्रोशित? यस्तो छ जवाफ

नेकपा एमालेभित्र द्वन्द्व चलेसँगै एउटा तस्बिर समाजिक सञ्जालमा खुबै ट्रोल बन्दै आएको छ। एमाले सचेतक एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खेमामा रहेका शान्ता चौधरीको उक्त तस्बिरमा विभिन्न तर्क वितर्कसहित ट्रोल बन्दै आएको छ।

एमालेको वरिष्ठ नेतासमेत रहिसकेका नेता माधव कुमार नेपालसँग उक्त तस्बिर भाइरल बनेको हो। शान्ति सम्झौतामार्फत् बनेको पहिलो संविधानसभामा सदस्यका रुपमा शान्ता चौधरी संविधानसभा भवन प्रवेश गरेकी थिइन्।

लामो समय अरुको घरमा कमलरी बसेकी शान्‍तालाई माधव नेपालले नै मूल राजनीतिमा ल्याएको र एमालेबाट सामानुपातिक सांसद बनाएको प्रसंग निकाल्दै नेपाल निकट कार्यकर्ताहरुले उनको खेदो खनेका हुन्।

अधिकांशले उनलाई प्रश्न गरेका छन्- काठमाडौंसमेत नदेखेका एक कमलरी तपाईँलाई आदरणीय नेता माधवकुमार नेपालले बिना तलब कमलरी बसी राख्नु भएको तपाइँलाई टपक्क टिपेर ल्याएर नेकपा (एमाले) को समानुपातिक सांसद बनाइ सिंहदरबार छिराउनुभयो। आज आएर तपाईँ आफ्नै उद्दारकर्ता आदरणीय नेता माधवकुमार नेपालको सांसद पद खारेज गरिहाल भन्दै सभामुखको कार्यकक्षमा चोर औंला देखाउँदै धर्ना दिनेमा अग्रपंक्तिमा हुनुहुन्छ। आदरणीय नेता माधवकुमार नेपालले एक कमलरी तपाईँलाई ल्याएर संसद प्रतिनिधित्व गराएर के गल्ती गर्नुभो माननीय शान्ता चौधरी ज्यू?’

यो प्रश्नको जवाफ शान्ता चौधरीले फर्काएकी छन्। उनले आफूले माधव नेपाललाई कहिल्यै अपमान नगरेको स्पष्ट पारेकी छन्। बरु उल्‍टै माधव कुमार नेपालले आफ्नै पार्टीको सरकार गिराउने, जनताको भावना विपरित पार्टी चोइट्याएर तहसनहस पारेको र कूकर्मको पछाडि लागेको आरोप लगाइन्।

उनले लेखेकी छन्-
म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ। यस बारे मैले धेरै बताई रहन पर्दैन तर म विगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन, यही सोच्ने गर्थें। तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल, मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ। त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ। शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पीडा कस्तो हुन्छ भन्ने अनुभूति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होइन उर्जा थपेको हुन्छ। मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ? एकपटक कसैले बताउन सक्नुहुन्छ? सक्नु हुन्छ भने बताइदिनुस्। उहाँ आफैँले आफ्नै पार्टीको सरकार गिराउनुभयो, आफैँले निर्माण गरेको पार्टी चोइट्याउन सारा नेपाली जनताको भावना बिपरित पार्टीलाई तहसनहस पार्दै हुनुहुन्छ। अब म के गरुँ? यस्ता जनभावना विपरितका कुकर्मका पछि लागौं? लाखौं कार्यकर्ताको मनमा छोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौं? यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलनलाई समाजवाद उन्मुख बनाउने हो भने यस्ता कार्यको मैले बिरोध गर्नै पर्छ र मैले त्यही गरे र अझै पनि गरिरहने छु।’




One thought on “सांसद बनाएर मूल राजनीतिमा प्रवेश गराएका माधव नेपालप्रति शान्ता चौधरी किन आक्रोशित? यस्तो छ जवाफ

  1. धेरै राम्रो साँसद ज्यु आफु कम्लरी हुदैमा विचार लाइ सानो बनाउनु हुदैन। हजुर को बिचार बहुत राम्रो लाग्यो। नराम्रो कुराको बिरोध जनाउनु आबश्यक छ।

Leave a Reply to Shankar Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *