रेशम चौधरीकै भोटले सांसद बनेका कृष्ण चौधरी र मालामती रानाले छाडे साथ

निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ। तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन्।

तर उनको गृह जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रहेको पाइएको छ। जुन कारण उनी पार्टीभित्र एक्लिँदै गएका हुन्। सांसद चौधरीको पदचाप पछ्याउँदै आएका सुदूरपश्चिम प्रदेशका सांसदहरु समेत यादव नेतृत्वको जनता समाजवादी पार्टीतिर लागेपछि उनी पार्टीभित्र कमजोर देखिएका हुन्।

यसअघि रेशमलाल चौधरीको तटस्थ रहने कदमलाई समर्थन गर्ने बताउँदै आएका सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति राना संस्थापन पक्षलाई रोजेका छन्।

संसदीय दलका नेता चौधरी भन्छन्, ‘पहिला उहाँ तटस्थ बस्नुभएको थियो। उहाँको स्वतन्त्रको कुरा हो। उहाँ नयाँ पार्टीलाई समर्थन जनाउनुभएको छ। अहिलेसम्मको सिनारियो अनुसार उहाँ नयाँतिर देखिनुभएको छ। तर अध्यादेशले दिएको समयावधि २१ दिन हो। २१ दिनपछि को कहाँ छ? त्यसपछि मात्रै थाहा होला।’

त्यस्तै प्रमुख सचेतक रानाले रेशम र आफूहरुको बाटो फरक-फरक देखिएको बताइन्। आफू पहिलेदेखि संस्थापन पक्ष तथा चुनाव चिन्हप्रति अडिग रहेको बताउँदै उनले फरक-फरक बाटो लाग्दैमा मुद्दा फरक हुने होइन। अझै पनि समय छ।’

२ सांसद मात्रै होइनन् जनता समाजवादीका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेको बताइएको छ। जसपा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका करिब ३० जना केन्द्रीय सदस्य मध्ये अधिकांश सदस्य आफूतिर रहेको र केही अझै खुल्न बाँकी रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *