एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल थारु विद्यार्थीहरु सम्मानित

थारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। थारु विद्यार्थी समाजलेराजधानीमा एक कार्यक्रम आयोजना गरी ६७ नमबरमा नाम निकाल्न सफल सुनसरीका निश्चल चौधरी, रुपन्देहीका अभिषेक चौधरी (८४ नम्बर) र बिक्की चौधरी र जिल्ला नखुलेका नरेन्द्र प्रसाद चौधरीलाई सम्मान गरेको हो।

उनीहरुलाई नेपाली कांग्रेसका नेता एवं सांसद तेजुलाल चौधरीले प्रमाणपत्र दिएर सम्मान गरेका थिए। कार्यक्रममा निश्चत स्वयं उपस्थित थिए भने रुपन्देहीका तीनै जनालाई उनीहरुका आफन्तहरुले सम्मान ग्रहण गरेका थिए।

कार्यक्रममा निश्चल चौधरीले मेहनत र डेडिकेशनले सफलता हात पारेको बताए। उनले यसबीचमा आफूले पारिवारिक भेटघाटदेखि लिएर धेरै रमाइला पलहरुलाई छाडेका बताए। ‘यो सफलता पाउनलाई मैले धेरै थोक गुमाए। पारिवारिक भेटघाट गर्न पाइनँ। साथीहरुसँग रमाइलो गर्न पाइनँ,’ उनले भने। उनले मेहनत गरे जसरी पनि फल पाइने बताए।

कार्यक्रममा पूर्व राज्यमन्त्रीसमेत भइसकेका सांसद चौधरीले थारु विद्यार्थीहरु मेहनत गर्न डराउने गरेको बताए। उनले अहिले नाम निकालेहरुले कडा परिश्रम र १८ घन्टासम्म पढ्ने गरेकोले सफलता पाएको बताए। तर थारु विद्यार्थीहरु यतिका मेहनत गर्न डराउने गरेको उनको भनाइ थियो।

शिक्षामा विकासका लागि थारुहरुले जाँड खाने बन्द गर्नुपर्ने, घरमा जाँड बनाउन बन्द गर्नुपर्ने र बाबु-आमाले बालबच्चालाई धेरै समय दिनुपर्ने उनको भनाइ थियो।

त्यस्तै थारु विद्यार्थी समाजको अध्यक्ष एवंनेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष चन्द्रप्रसाद चौधरीले आफूहरुले सधैं विद्यार्थी हकहितको लागि आवाज उठाउँदै आएको बताए। उनले अघिल्ला वर्षहरुमा एसईईका विद्यार्थीहरुलाई सम्मान गर्ने गरेको र यसवर्षदेखि मेडिकल शिक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पनि प्रोत्साहनको लागि सम्मान कार्यक्रमो थालनी गरेको बताए। ‘थारु विद्यार्थी समाजले अघिल्ला वर्षहरुमा पनि मेधावी विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। अगामी दिनमा पनि गर्दै जानेछ। प्रोत्साहनका लागि यसवर्षदेखि मेडिकल शिक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गर्न लागेका हौं,’ उनले भने।

कार्यक्रममा थारु विद्यार्थी समाजका पूर्वअध्यक्ष सीएन थारु, नेतृ गीता चौधरी, पूर्व एसएसपी दिलीप गच्छदारले मन्तब्य दिएका थिए।




One thought on “एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल थारु विद्यार्थीहरु सम्मानित

  1. बढाई तथा सुभकामना। हामी हाम्रा समुदाय तथा देशको शिर उच्च राख्ने छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *