जसपा केन्द्रीय कार्यकारिणी समितिमा रेशम चौधरी कायमै

जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ। तटस्थ बसेका रेशम चौधरीको पद भने कायमै रहेको छ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै तटस्थ बसेका चौधरीलाई समेत पार्टीबाट निष्कासन गर्ने निर्णय भएको थियो। तर चर्को विरोध आएपछि भोलिपल्टै जसपाले निर्णय सच्याएको थियो। पार्टी प्रवक्ता डम्बर खतिवडाले रेशम चौधरी जसपामै रहेको जानकारी दिएका थिए।

यो पनि पढ्नुस्: रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ

तर रेशम चौधरीको मत अझै तटस्थ रहेको छ। उनले जेलबाट टेलिफोनमार्फत् आफू अझै तटस्थ रहेको स्पष्ट पारेका थिए। उनले महन्थ ठाकुर समूहले अहिलेसम्म कुनै पार्टी दर्ता नगरेको र पार्टी दर्ता नगरेसम्म जसपा नै रहेको भन्दै आफ्नो मत तटस्थ रहेको स्पष्ट पारेका थिए।

यसबीचमा थारुहरुको माग मुद्दा, टीकापुर राजबन्दी रिहाइलगायतका विषयमा जुन पक्षले गम्भीर भएर मुद्दा उठाउनेछ, त्यतैतिर आफ्नो मत रहने उनले बताएका थिए।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपा अब ३५ सदस्यीय कार्यकारिणी समिति भएको छ।

यसैबीच जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ। यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेस हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *