थारू अष्टिम्की पर्व विषयक कर्णाली प्रदेशमा अन्तरक्रिया

आदिवासी थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजनामा थारु महिलाहरुले बडो श्रद्धाका साथ मनाउने अष्टिम्की पर्व विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारु समुदायमा मनाइने अष्टिम्की पर्व आजभोलि सामान्य औपचारिकतामा सीमित हुँदै गएकाले यसको संरक्षण सम्बर्द्धनका लागि जागरुकता ल्याउन अन्तरक्रिया गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला उपसभापति तथा समाजसेवी बुद्धिजीवि कालिप्रसाद शाक्यले– आफू थारु गाउँमा हुर्केको बढेकोले थारु सँस्कृति अत्यन्तै राम्रो लाग्ने बताउँदै थारु समुदायले आफ्ना परम्परा मूल्य मान्यतालाई आत्मसाथ गर्दै जानुपर्ने बताए।

अष्टिम्की पर्वको महत्व थारु समुदायमा निकै नै रहेको बताए। यस पर्वले सामाजिक एकता, सद्भाव एवम् दिदीबहिनी र दाजुभाइमा प्रगाढ सम्वन्ध रहने हुनाले युवापुस्ताहरु यसलाई जोगाउनु पर्नेमा जोड दिए। थारुहरु आफ्नो पहिचानको लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै आफूले सदैव सहयोग गर्न तयार रहेको बताए।

थारु बुद्धिजीवि तथा थारु संस्कृतिविद मानबहादुर चौधरी पन्नाले अष्टिम्की पर्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले गाउँभरिका महिलाहरु एकै ठाउँमा जम्मा भई मनाउने यो पर्वमा आजभोलि एक्लै आफ्नो कोठामा कृष्ण भगवानको फोटो ल्याइ पूजापाठ गर्ने प्रवृति बढेकाले सामाजिकतामा कमी महशुस हुँदै गएकाले आफ्नो परम्परागतअनुसार मनाउनका लागि युवा पुस्ताका दिदी बहिनीहरुबीच अन्तरक्रिया गरेको बताए।

यस पर्वमा १.कृष्ण(कान्हा)२.(सूर्य)दिन ३.चन्द्र(जोन्ह्या) ४.पाँच पाण्डव (पाण्डो) ५. कौरव (कौराओ) ६.डोली ७.बनुवा ८.मञ्जोर ९.ऊँट १०.हात्ती ११.नाउ (लाउ) ११. बाँसुरी बजाएको कृष्ण(कान्हा) १२. कुकुर (कुक्रा) १३.रावण (रौना)१४.सर्प (सप्वा) १५.राम र सीताको अभिभावक १५.घोडा (घोर्वा) १६.भाले (मुर्घा) १७.माछा (रैनी मछरिया) १८. रुख १९.बाँदर २०.बाघ (बग्घ्वा) २१. गंगटो आदिको पूजापाठ गरिने भए पनि युवा पुस्तामा परम्परागत रुपमा पर्व मान्न छाडेकाले यसको महत्व बुझाउनु पर्ने आवश्यकता औंल्याए।

कार्यपत्रको टिप्पणी गर्दै थारु बुद्धिजीवि समाजसेवी लाल बहादुर चौधरीले कार्य निकै मिहिनेतका साथ तयार पारिएको बताउँदै अष्टिम्की पर्वको कार्यपत्रले नयाँ पुस्ता मात्र नभई समग्र थारु समुदायकै लागि महत्वपूर्ण सावित हुने बताए। थारु समुदायको महिला दिदी बहिनीहरुले मनाउने यो पर्वका धेरै किंवदन्ती जोडिएको भएता पनि मूल नायक कृष्ण भगवान रहेको बताए।

कार्यक्रममा थारु अगुवा सनिसरा महतमले यस्तो कार्यक्रम अन्य थारु गाउँमा समेत गरेर सांस्कृतिक जागरण ल्याउने कुरा बताए। कार्यक्रममा थारु अगुवा भुजिलाल थारु, सनिसरा महतम, शेरबहादुर थारु, जेवि डेमनडौरा लगायतले यस पर्वबारे आआफ्ना मत राख्दै स्थानीय सरकारले पनि कर्णाली प्रदेशमा अल्पसंख्यक थारुहरुको संस्कृति जोगाउने कुरामा ध्यान दिनुपर्ने आग्रह गरेका थिए।

कार्यक्रममा विभिन्न गाउँबाट उल्लेख्य महिलाहरुको उपस्थिति रहेको थियो। कार्यक्रम खोलीगाउँका थारु अगुवा कालुराम थारुको सभापतित्वमा सम्पन्न भएको थियो। यो पर्व थारु समुदायका महिलाहरु भाद्र महिनाको कृष्ण जन्माअष्टमीका दिन मनाउने गर्छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *