थारु वृहत् शब्दकोष : एक ऐतिहासिक दस्तावेज

शत्रुघन चौधरी

थारु कल्याणकारीणी सभा क्षेत्रीय कार्यालय दाङ देउखुरीको पहलमा निकै लामो समयको प्रतिक्षापछि हालसालै थारु वृहत् शब्दकोष प्रकाशन भएको छ। कूल ५५७ पेज रहेको यस शब्दकोष थारु शब्दको नेपाली र अंग्रेजीमा अर्थ लेखिएको छ। यसैगरी थारु शब्दको उच्चारण गर्न सहजताका लागि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी उच्चारणका अक्षर The International Phonetic Alphabet (IPA) समेत राखिएको छ।

यसकारण यस शब्दकोषलाई अन्तर्राष्ट्रिय स्तरको डिक्सनरी भन्दा सायदै फरक नपर्ला। यसले गर्दा थारु, गैरथारु, विदेशी पाठकलाई समेत थारु भाषा बुझ्न र सिक्न सहज हुने विश्वास गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका डिक्सनरीमा हुनुपर्ने आधारभूत कुराहरु यस शब्दकोषमा समेटिएको पाउन सकिन्छ।

यस शब्दकोषमा २५ हजार बढी थारु शब्द समेटिएको छ। यस शब्दकोषमा खास गरेर आठ वटा स्वरवर्ण (अ, आ, इ, उ, ए, ऐ, ओ, औ )बाट आउने थारु शब्दहरु त्यसैगरी २४ वटा ब्यन्जन वर्ण (क, ख, ग, घ, च, छ, ज, झ, ट, ठ, ड, ढ, न, प, फ, ब, भ, म, य, र ल, व स र ह) बाट आउने थारु शब्दहरु समावेश गरिएका छन्।

यस डिक्सनरीलाई सरसर्ती हेर्ने हो भने थारु भाषामा जे जसरी बोलिन्छ हुबहु त्यही जनजिब्रोको शब्द लेखन शैलीलाई अंगिकार गरेको देखिन्छ। यस डिक्सनरीमा पश्चिम तराईका थारु समुदायमा बोलिने डगौरा, डेसौरी थारु भाषाका शब्दहरु समेटिएको पाइन्छ। थारु भाषामा विविधता रहेकाले यस डिक्सनरीले अन्य क्षेत्र पूर्वी मोरङ, सप्तरीय भाषा, चितौनिया थारु भाषाको डिक्सनरी प्रकाशनको आवश्यकता रहेकोमा थप बल पुगेको छ।

थारु भाषा विभिन्न मातृभाषामध्ये एक समृद्धशाली भाषा हो भन्ने कुरा यस कोषमा समेटिएको पच्चिस हजार बढी थारु शब्दको भण्डारले पनि पुष्टि हुन्छ। समय परिवर्तनसँगै थारु समुदायमा जीवन पद्धतिमा पनि पहिलाको भन्दा अहिले निकै नै बदलाव आएको छ। यसले गर्दा पुराना परम्परागत जीवन शैलीमा प्रयोग गरिने शब्दहरु प्राय लोप हुने अवस्थामा छन्।

नयाँ पुस्तामा परम्परागत शब्दहरु प्रयोग गरे पनि अत्यन्त न्यूनरुपमा प्रयोग गर्ने गरिन्छ। ती लोप भइरहेका परम्परा, धर्म, सँस्कृति, मूल्य, मान्यतासँगै बोलिचालीमा प्रयोग गरिने ठेट थारु शब्दहरु यस कोषले समेटेको छ। यसैगरी थारु परम्परागत थारु कहकुट (उखान टुक्का) र त्यसको अर्थ, थारु समुदायको उपथरहरु, थारु बार, थारु महिना, थारुहरुले मनाउने चाडपर्व, थारु समुदायमा गाइने लोक गीतको नाम, नृतत्यका प्रकार, थारु गन्ती,थारुहरुको आस्थाको देवी देवताहरुको नाम र केही प्रमुख धार्मिक स्थलहरु पनि यस कोषमा समेटेर थारुहरुको मौलिक शब्दहरुको भण्डारण गर्न सफल भएको छ।

यसैगरी यस यस शब्दकोष अन्तिम पृष्ठतिर थारुहरुको घरायसी प्रयोगमा आउने परम्परागत सामग्री, औजार, बस्तुहरुको सचित्र नाम, खेतीपातीसँग सम्बन्धित औजारहरुको थारु नाम प्रस्तुतीले झन कोषलाई खँदिलो बनाएको छ। यस कारण यस कोषले मौलिक थारु भाषाको संरक्षण, सम्बर्द्धन  र विकासमा अह्म भूमिका खेलेको छ र यो थारु वृहत् शब्द कोष थारु भाषाको विकासमा कोषे ढुंगा सावित भएको छ। थारु वृहत् शब्दकोषलाई एउटा ऐतिहासिक दस्तावेजको रुपमा लिन सकिन्छ।

परापूर्वदेखि प्रयोगमा आइरहेका सबै थारु शब्दहरु समेट्नका लागि विभिन्न क्लष्टर छुट्याएर सम्बन्धित क्षेत्रका जानकार व्यक्तिसँग सोधपुछ, छलफल, अन्तर्वार्ता, अध्ययन अनुसन्धान गरी गहनरुपमा शब्द र त्यसको भाव तथा अर्थ संकलन गरी शब्दकोष तयार गरिएको छ। यसका साथै यस शब्दकोषमा हुनुपर्ने आधारभूत तत्वहरु यस कोषमा राखिएको छ, यसकारण थारु वृहत् शब्दकोष वैज्ञानिक र यथार्थपरक छ भन्न सकिन्छ।

यो वृहत् शब्दकोषमा कहिल्यै नसुनेका थारु शब्दहरु पनि भेटिन्छन् यसले गर्दा थारु समुदायका नयाँ पुराना पुस्ताका पाठकलाई समेत नयाँ सिकाई हुने देखिन्छ। यसका साथै यस शब्दकोषले थारु भाषा शिक्षक, देशी विदेशी अनुसन्धानकर्ताहरुका लागि पनि महत्वपूर्ण ‘रिफरेन्स मेटेरियल’ हुनेछ। अझ भन्नुपर्दा यो डिक्सनरी ठूल्ठूला विश्वविद्यालयका पुस्तकालयमा अध्ययनका लागि राखिन लायकको सामग्री प्रकाशन भएको छ।

यस शब्दकोष तयारीको क्रममा दाङ देउखरी लगायतका विभिन्न जिल्लाका दिग्गज दिग्गज एवं निकै लामो समय प्राज्ञिक क्षेत्रमा काम गरिसकेका अनुभवी व्यक्तित्वहरु पूर्व प्राध्यापक, पूर्व प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवीहरुको संलग्नता रहेकाले थारु वृहत् शब्दकोषको विश्वसनीयता अझ बढेको छ।

यसमा समेटिएका हरेक शब्दको अर्थलाई सम्बन्धित क्षेत्रको विज्ञसँग विभिन्न कोणबाट छलफल गरी निचोडमा पुगी अन्तिम रुप दिइएको छ। यसर्थ समग्रमा भन्नुपर्दा यो शब्दकोष पूर्णरुपमा सहभागितात्मक तरिकाले तयार भएको देखिन्छ। पूर्व पश्चिममा थारु भाषाको मानक भाषा बनाउने बहस चलिरहेका बेला थारु वृहत् शब्दकोष प्रकाशनले अझ महत्व बढाएको छ। यस वृहत् शब्दकोषको प्रकाशनले थारु भाषाको व्याकरण बनाउने कार्यकालागि पनि एउटा आधारस्तम्भ तयार भएकोछ।

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा कुल प्रसाद कोइरालाको शुभकामना मन्तव्य, भाषा आयोगको अध्यक्ष डा लवदेव अवस्थीको शुभकामना मन्तव्य, थारु कल्याणकारीणीका तर्फबाट संयोजक श्री बालगोविन्द चौधरीको प्रकाशकीय भनाइ तथा सम्पादक श्री उदय आलेको सम्पादकीयले यस वृहत् शब्दकोषको अझ ओज बढाएको छ।

थारु भाषाको वृहत शब्दकोष संस्थागतरुपमा प्रकाशित भएको यो पहिलो पटक हो। यो शब्दकोष थारु कल्याणकारीणी सभा क्षेत्रीय समिति दाङ देउखुरीको एकल प्रयासमा प्रकाशित भएको छ। यस शब्दकोषको प्रकाशनले भाषिक आन्दोलनलाई ठूलो टेवा दिएको छ। यस शब्दकोषले राज्यलाई नै भाषिक विकासमा थप सहयोग गरेको छ।

यसको प्रचार प्रसार र प्रवर्द्धन गर्न उत्तिकै जरुरी छ। यस वृहत् शब्दकोषलाई अझ ब्यापक बनाउनका लागि थारु कल्याणकारीणी सभा केन्द्रीय समिति लगायत हरेक जिल्लाका जिल्ला समितिहरुले पहल लिन आवश्यक छ। यसैगरी सरकारी तवरबाट भाषा सस्कृतिको क्षेत्रमा कार्य गर्ने सँस्कृति तथा पर्यटन मन्त्रालय, थारु आयोग, भाषा आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको भाषा विज्ञान केन्द्रीय विभाग, अनुसन्धानमूलक संस्थाहरुले यो शब्दकोषको आवश्यकता, महत्वबारे थारु बहुल क्षेत्रलगायत देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमका आयोजना गरी ब्यापकरुपमा प्रचारप्रसार, बहस पैरवी गर्न आवश्यक छ। यस्तै आगामी दिनमा अझ परिष्कृत र परिमार्जन गर्नका लागि यथेष्ठ सहयोगको आवश्यकता रहेको छ।

आगामी दिनमा नयाँ संस्कराण प्रकाशन गर्दा अझै प्रचलनमा आएका पुराना पुराना शब्दहरु खोतलेर परिमार्जनसहित निकाल्नका लागि विद्धान पाठकबाट प्राप्त सुझाव संकलन गर्न जरुरी देखिन्छ। विश्वव्यापीकरणको प्रभावबाट थारु समुदाय पनि अछुतो छैन यसले गर्दा जनजिब्रोमा विभिन्न आगन्तुक शब्दहरु पनि प्रचलनमा आइरहेका हुन्छन्, ती बोलिचालीमा आउने आगन्तुक शब्दहरु पनि जस्ताको त्यस्तै समावेश गर्दा अझ यसको दायरा फराकिलो हुने देखिन्छ।

यसमा प्रस्तुत गरिएका चित्रहरुको स्केजलाई रंगीनमा राख्न सकेमा र साथै क्लष्टरिङ गर्न सकेमा पाठकलाई बुझ्न अझ सहज हुन्थ्यो। यो महत्वपूर्ण शब्दकोषलाई आम पाठकसमक्ष पुर्‍याउन सकेमा यसले अझ सार्थकत पाउने देखिन्छ। यसका लागि अहिलेको युग सूचना प्रविधिको युग हो, सबैको हातहातमा मोबाइल छ इन्टरनेटको पहुँच छ यस कारण छपाई सँगसँगै थारु वृहत शब्दकोषको एप्स (डिजिटल डिक्सनरी) तयार गर्न सकेमा सबै पाठकसामु सर्वसुलभ पहुँच हुनेछ।

यसका साथै यस शब्दकोषका बारेमा केही सुझाव, सल्लाह, टिप्पणी संकलन गर्नका लागि प्रकाशक, सम्पादक, संयोजक वा थाकस क्षेत्रीय सभाको सम्पर्क फोन, इमेल ठेगाना राख्न जरुरी देखिन्छ।

शीर्षक : Tharu Advanced Dictionary With English and Nepali (थारु बृहत शब्द कोष)
प्रकाशक :  Tharu Welfare Society, Regional Committee, Dang Region No1 (थारु कल्याण कारीणी सभा क्षेत्रीय समिति, दाङ, क्षेत्र नं. १)
भाषा : Tharu Nepali English (थारु, नेपाली, अंग्रेजी)
सम्पादक : Uday Raj Aley उदय राज आले
मुल्य रु. Individual Nrs. 1800, US Dollar $ 51.00
ISBN : 9789937035019

लेखक थारु भाषा साहित्यका विज्ञ हुन्। उनी विगत लामो समयदेखि थारु भाषामा कलम चलाउँदै आएका छन्। उनी हाल कीर्तिपुरमा बस्छन्।




4 thoughts on “थारु वृहत् शब्दकोष : एक ऐतिहासिक दस्तावेज

  1. Congratulation. it’s really grateful work thank you teeem.Please let them know to all the थारु people’s.

  2. धेरै राम्राे, सराहनिय र एतिहाँसिक काम गर्नु भएकाेमा धन्यबाद । हुनत शब्द काेषै त हेर्न पाएकाे छैन त्यसैले त्यस सम्बन्धि कमेन्ट अहिले गरिचाँही नहालाै । तर जे भए पनि जस्ताे भए पनि मैले साेचेकाे र चाहेकाे काम गर्नु भएकाेमा हृदय देखिनै धन्यबाद छ मेराे तर्फबाट । अागामी दिनहरूमा पनि यस्तै यस्तै थारूहरू सम्बन्धी खाेज मुलक कृतीहरू अावाेस शुभकामना ।

    1. ढिलो भए पनि थारु भाषाको शब्दकोष निर्माण भएकोले धेरै खुशी लाग्यो साथै निर्माण कार्य मा रातदिन खतिरहने थारु निर्माण कर्तालाई हार्दिक नमन ब्यक्त गर्दछु।।।

  3. यति उतम बधाई तथ धन्यवाद मलाई पनि 1प्रति चाहियो

Leave a Reply to Rajkumari chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *