माधव कमरेड ! मिशन पूरा भएपछि तपाईँलाई लात हान्नेछन् : गंगा थारु

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई १४ बुँदे सुझाव दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् नेता नेपाललाई विशाल पार्टी एमालेलाई फुटको संघारमा नपुर्‍याउन आग्रह गरेकी छन्।

देशी विदेशी शक्तिहरु पार्टीलाई चकनाचुर पार्न उद्दत रहेको भन्दै उनले पार्टीभित्रको झगडा पार्टीभित्रै रहेर समाधान गर्न आग्रह गरेकी छन्। उनले आफ्नो पार्टीको अध्यक्ष पराई र अर्को पार्टीको अध्यक्ष प्यारो कदापि हुन नसक्ने भन्दै लेखेकी छन्, ‘उनीहरुले त आफ्नो मिशन पूरा भएपछि लात हान्नेछन्। यसमा कुनै शंका छैन कमरेड।’

यी हुन् ओली पक्षीय सांसद चौधरीले माधव नेपाललाई गरेको अनुरोध
⁃ एउटा व्यक्तिसँगको इगोको कारण तपाईं हामी सबैको प्यारो र विशाल पार्टी नेकपा एमाले अहिले गम्भीर संकटमा परेको छ। फुटको संघारमा पुगेको छ।

⁃ देशी विदेशी शक्तिहरु अहिले हाम्रो लोकप्रिय र विशाल पार्टीलाई क्षत् विक्षत्/चकनाचुर पार्न उद्दत छन्। न्वारान देखिको बल लगाई रहेका छन्।

⁃ पार्टीका लाखौं कार्यकर्ता र शुभेच्छुक/ समर्थकहरु अहिले निराश छन्।

⁃ पार्टी भित्रको झगडा र अन्तरविरोध पार्टीभित्रै समाधान गर्नुजस्तो उत्तम विकल्प अरु केही हुन सक्दैन। कमरेड आफैँ जानिफकार हुनु हुन्छ।

⁃ विपक्षी दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थ पूर्तिका लागि तपाईंलाई दैनिक जसो कोटेश्वर धाएर उकासी रहेका पनि हुन सक्छन्। एमाले फुटाउन सके उनीहरुलाई ठूलो राहत पनि हुन्छ होला।

⁃ यदि त्यसो भयो भने एमालेको चाहिँ हालत के हुन्छ कमरेड? एक चोटि ठण्डा दिमागले सोच्नु होस् त!

⁃ यो पार्टी तपाईंहरु जस्ता एक से एक दिग्गज नेताहरुले रगत पसिना चुहाएर बनाउनुभएको र यो ठाउँसम्म ल्याइ पुर्‍याउनु भएको होइन र? माय लाग्दैन कमरेड?

⁃ जति पनि तीता मिठा कुराहरु छन्, मतभेदहरु छन्, अन्तरविरोधहरु छन् पार्टी बैठकमा भाग लिएर त्यहींबाट हल गर्नुचाहिँ उत्तम विकल्प होइन र कमरेड?

⁃ आफ्नो पार्टीको अध्यक्ष पराई र अर्को पार्टीको अध्यक्ष प्यारो कदापि हुन सक्दैन।

⁃ उनीहरुले त आफ्नो मिशन पूरा भए पछि लात हान्नेछन्। यसमा कुनै शंका छैन कमरेड।

⁃ पार्टी अध्यक्ष मनै परेको छैन भने, अनुहार नै हेर्न मन छैन भने, सुध्रिन्छन् भन्ने लागेको छैन भने पार्टीको बैठकमा उपस्थित भएर आफ्नो बहुमत सिद्ध गरेर हटाए भइहाल्यो नि वैधानिक बाटोबाट।

⁃ दुबै पक्षबाट भएका गल्ती र कमि कमजोरीहरुप्रति आत्मालोचना गर्दै पार्टीलाई एक ढिक्का राख्नु र अझै सुदृढ़ पार्दै लैजानु अनि पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तक/समर्थकहरूको मुहार हंसिलो पार्नु तपाईँहरुको दायित्व हो कमरेड।

⁃ तपाईंले पहिला उठाउँदै आउनुभएका सबै मागहरु सम्बोधन भइसकेको अवस्था छ। अब नयॉ नयॉ मागहरु एक पछि अर्को गर्दै थप्दै जानु भनेको पार्टीलाई जसरी भए पनि फुटाउन नै लिपरेको अर्थमा बुझ्नुपर्ने हुन्छ हामीजस्ता सामान्य कार्यकर्ताहरुले।

⁃ अत: यस्तो व्यापक जनाधार भएको, तपाईंहरुले नै दु:ख गरेर बनाउनुभएको, जन नेता कमरेड मदन भण्डारीको अगुवाईमा प्रतिपादित जनताको बहुदलीय जनवाद जस्तो देश काल परिस्थिति सुहाउँदो विचार र सिद्धान्त बोकेको सूर्य चिन्हधारी लोकप्रिसय पार्टीलाई फुटाएर इतिहासमा कलंकको टीका नलगाउनुहोस् कमरेड मेरो बिन्ती छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *