जसपाका दुई थारु सांसदबीच फाटो, कृष्णले रोजे रेशम चौधरी, मालामाती रानाले उपेन्द्र यादव

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।

सोमवार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो। सनाखतको क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। अर्का १ सदस्य रेशम चौधरी भने तटस्थ रहे। उपेन्द्रले जसपामा आधिकारिकता पाएसँगै आयोगले महन्थ पक्षलाई भने नयाँ दल दर्ताका लागि आउन भनेको छ। जसको असर सुदूरपश्चिममा परेको हो।

जसपाका केन्द्रीय सदस्य समेत रहेका संसदीय दलका नेता चौधरीले आयोगको निर्णयले यादव पक्षलाई आधिकारिकता प्रदान गरे पनि आफूहरु पार्टी एकताको पक्षमा रहेको बताए। उनले भने, ‘म कसैको पक्षमा छैन। जसपा एकताको पक्षमा छु। माननीय रेशम चौधरीको पक्षमा छु’ आफू तटस्थ रहने नेता चौधरीको भनाइ छ।

अर्का सांसद तथा जसपा केन्द्रीय सदस्य मालामति रानाले भने आफू जसपाको आधिकारिक पक्षलाई समर्थन गर्ने बताइन्। ‘आयोगको निर्णयपछि अब दल (जसपा)को नाम, चिह्न, लेटरप्याड सवै उपेन्द्रको भएको छ’, रानाले अगाडि थपिन्, ‘जसपाको लागि सोमबारको घटना दुःखद हो। तथापि म व्यक्ति विशेषको राजनीति नगर्ने भएकोले आधिकारिक पक्षलाई मेरो समर्थन हुन्छ।’

सुदूरपश्चिममा जसपाका २ मात्रै सांसद रहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले जेठ २५ गते विश्वासको मत लिँदा जसपाका ती २ सांसदले अविश्वासको मत दिएका थिए। यहाँ नेपाली काँग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले (माधव समूह)को संयुक्त अर्थात संयुक्त गठबन्धनको छ। हालको संघीय सरकार अनुकूलको सरकार छ।

तर यसअघि ठाकुर र महतो निकट मानिएका र मुख्यमन्त्री भट्टले विश्वासको मत माग्दा अविश्वासका मत दिएका यहाँका ती २ सांसदहरुलाई नैतिक संकट परेको छ। यद्यपि आधिकारिक निर्णय लिन बाँकी रहेको सांसदद्वय चौधरी र रानाले बताएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *