‘भिष्म पितामह’ उपमा महन्थजीको लागि रेशमको प्रश्न पनि हो : सुरेन्द्र चौधरी

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपाका निलम्बित सांसद रेशम चौधरीले थारुहरुको चाहनाअनुसार तटस्थ बस्ने निर्णय लिएको बताएका छन्। उनले प्रमुख राजनीतिक पार्टी र जसपसमेत सत्ता स्वार्थमा लिप्त भएको बेला कुनै पक्षलाई समर्थन वा विमत्ति जनाउनु रेशम चौधरीको लागि ठीक नभएको बताए।

‘आम थारुहरुले रेशमजीले तटस्थ बस्नुपर्छ भन्ने चाहनुभएको थियो। म आफैँले पनि व्यक्तिगत रुपमा तटस्थ बस्न सुझाएको थिएँ,’ अभियन्ता चौधरीले थारुवानसँग भने, ‘उहाँको निर्णयप्रति आम थारुहरुको समर्थन रहेको छ।’

उनले दलका नेताहरुले रेशम चौधरीलाई गोटीको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाए। थारुहरुको पार्टी भन्ने जसपाले केन्द्रीय कार्यकारिणी समितिमा यादव र मैथिलीः ब्राह्मणहरुको बाहुल्यता प्रदर्शन गरेको उनको आरोप थियो।
‘जसपाका नेताहरुले पार्टीलाई थारुहरुको पार्टी भनेर चिनाउँछन्। दुई जना थारु राखेर बाँकी यादव र मैथिली ब्राहम्णहरुको झुन्ड लगाएर थारुको पार्टी भन्न मिल्छ?,’ उनको प्रश्न थियो।

टीकापुर राजबन्दीर रिहाइका लागि लागिपरेका चौधरीले रेशमले महन्थ ठाकुरलाई दिइएको भिष्म पितामहको उपमालाई चुनौतिको रुपमा बुझ्ना आग्रह गरे। उनले रेशम चौधरीले जसरी महन्थ ठाकुरलाई ससम्मान भिष्म पितामहको उपमा दिए, त्यसरी नै पार्टीभित्र ठाकुरले असली सकुनीहरुको पहिचान गर्नसक्नुपर्ने अभियन्ता चौधरीको भनाइ छ।

‘रेशमजीले महन्थजीलाई दिइएको भिष्म पितामहको उपमा सम्मानमात्र नभएर प्रश्न पनि हो,’ उनले भने, ‘महन्थजीले अब पार्टीभित्रका असली सकुनीहरुलाई चिन्न सक्नुपर्छ। रेशम चौधरीलाई ससम्मान रिहाइ गराउन सक्नुपर्छ।’

निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिता प्रदान गरेपनि थारु मुद्दा वा टीकापुर घटनामा उपेन्द्र यादवको भास्य सबैभन्दा कमजोर भएको चौधरीको टिप्पणी छ।

उनले यादव लामो समयसम्म सरकारमा रहँदा पनि टीकापुर राजबन्दीका लागि कुनै पहल नगरेको र राजपा र समाजवादी पार्टी मिलेर जसपा बन्दासम्म उनले रेशम चौधरीको रिहाइका लागि सार्वजनिकरुपमा कुनै टिप्पणी नदिएको बताए। त्यही भएर अब थारु समुदायमा आउँदा यी नेताहरुले स्पष्ट थारुका एजेन्डा लिएरमात्र आउनुपर्ने उनको धारणा छ।

‘उपेन्द्रजीले पार्टीको आधिकारिता पाउनुभयो। महन्थजीले नयाँ पार्टी खोल्नुहोला। तर दुवै समूहका नेताहरुलाई के आग्रह छ भने थारु समुदायमा आउँदा स्पष्ट एजेन्डा बोकेर आउनुस्,’ उनले भने।




One thought on “‘भिष्म पितामह’ उपमा महन्थजीको लागि रेशमको प्रश्न पनि हो : सुरेन्द्र चौधरी

  1. ज स पा यादबहरुकै पार्टी हो भन्ने कुरामा कुनै द्विविधा छैन र उपेन्द्र यादवले थारुको पक्षमा बोल्ला भनेर न सोच्दा हुन्छ ।

Leave a Reply to श्याम चौधरी । Cancel reply

Your email address will not be published. Required fields are marked *