यी थारु सांसद बन्नसक्छन् देउवा क्याबिनेटमा मन्त्री

संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले करिब डेढ वर्ष सरकार चलाउने भएका छन्। यसबीचमा कुनै दलले समर्थन फिर्ता गरेमात्र प्रधानमन्त्री देउवाले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो नभएको खण्डमा उनैले अर्को चुनावसम्म सरकारको नेतृत्व चलाउनेछन्।

देउवालाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसबाहेक नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव पक्ष र नेकपा एमालेबाट माधव कुमार नेपाल पक्ष सांसदहरुको साथ रहेको छ। समग्रमा भन्नुपर्दा चार वटा दलका सांसदहरुको समर्थनमा यो सरकार बनेको छ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। देवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादीबाट दुई दुई जना मन्त्रिमण्डलसमेत विस्तार गरे। जसअनुसार बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बनेका छन्।

देउवाले विश्वासको मत पाएसँगै सत्ता साझेदार दलहरुमा मन्त्री बन्ने होडबाजी चलेको छ। यो होडबाजीमा थारु नेताहरु पनि पछि छैनन्। नेपाली कांग्रेसमा विजय गच्छदारबाहेक पाँच जना थारु सांसद रहेका छन्।

उमाकान्त चौधरी, तेजुलाल चौधरी, नमिता कुमारी चौधरी, पद्म नारायण चौधरी, पार्वता डिसी थारुमध्ये उमाकान्त चौधरी र तेजुलाल चौधरी मन्त्री बन्ने होडबाजीमा अग्रपंक्तिमा छन्। यी दुवै जना यसअघि पनि मन्त्री भइसकेका छन्। उमाकान्त चौधरी स्वास्थ्य मन्त्री भइसकेका छन् भने तेजुलाल चौधरी खेलकुद राज्यमन्त्री भइसकेका छन्।

उमाकान्त चौधरी कृष्णप्रसाद सिटौला पक्षधर हुन्। सिटौला अहिले देउवासँग नजिक रहेकाले उमाकान्त चौधरीको मन्त्री बन्ने चान्स धेरै रहेको बताइएको छ। तेजुलाल चौधरी भने रामचन्द्र पौडेल पक्षधर हुन्। उनको चर्चा पनि मन्त्री बन्नेमा अग्रपंक्तिमा रहेका छन्।

त्यस्तै माओवादी केन्द्रमा तीन जना थारु सांसद रहेका छन्। यसअघि माओवादी सांसद रहेका कैलालीका गौरीशंकर चौधरी एमाले प्रवेश गरेसँगै सांसद पदबाट मुक्त भएका छन्।

अहिले अमनलाल मोदी, रामकुमारी चौधरी र सन्तकुमार थारु माओवादी केन्द्रका थारु सांसद हुन्। यीमध्ये सन्तकुमार थारु र रामकुमारी चौधरी मन्त्री भइसकेका छन्। अमलाल मोदी भने हालसम्म मन्त्री हुन सकेका छैनन्। मोदीले मोरङ ४ बाट विजयी सांसद हुन्। उनले कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। तर हालसम्म पार्टीले उनलाई मन्त्री बनाएको छैन। त्यसैले पनि यसपाली मोदीको मन्त्री बन्ने चान्स धेरै रहेको बताइन्छ।

जसपामा भने दुई जना थारु सांसदमध्ये रेशम चौधरी निलम्बित अवस्थामा रहेका छन् भने चन्द्रकान्त चौधरी महन्थ ठाकुर पक्षधर हुन्। ओलीको पछिल्लो क्याबिनेटमा उनी राज्यमन्त्री रहेका थिए।

त्यस्तै नेकपा एमालेको माधव नेपाल पक्षधर सरकारमा सहभागी भए त्यहाँ पनि दुई जना थारु सांसद रहेका छन्। मेटमणि चौधरी र लक्ष्मी चौधरी उनी पक्षधर थारु सांसद हुन्। नेपालले पनि देउवा क्याबिनेटमा आफ्ना सांसद सहभागी गराए मेटमणि चौधरीको मन्त्री बन्ने चान्स बढी रहेको बताइन्छ।

बाँकी केही दिनमा यसको छिनोफानो भइ नै हाल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *