रेशम चौधरीबारे संसदमा बहस, कसले के-के भने?

प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएका छन्। मत पाउनुअघि उनले संसदमा रहेका दलहरुसँग विश्वासको मत मागेका थिए। सो क्रममा जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले विश्वासको मत त दिने तर आफूहरुको माग मुद्दा कहिल्यै पूरा नहुने गुनासो पोखे। उनले संविधान संशोधन, नागरिकताका मुद्दा, आफ्ना नेता कार्यकर्ताको मुद्दा अझै विचाराधीन रहेको बताए। उनले निर्वाचित सांसदलाई पनि संसदमा हेर्न नपाएको गुनासो पोखे।

त्यस्तै जसपा नेता बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरे। उनले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको एउटा पाटो भएको भन्दै यो मुद्दालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने बताए।

उनले भने, ‘माननीय रेशम चौधरी थरुहट विद्रोहकै एउटा बन्दी हुन्, यसमा किन्तु परन्तु छैन। हामीले यसमा कुनै उपाय निकाल्न सकिन्छ। झापा आन्दोलन, टिमुरबोटे र ओखलढुङ्गा काण्ड, जनयुद्धका समस्याहरू हल गर्‍यौँ भने टिकापुर थारु विद्रोहको हल किन गर्न नसक्ने ? त्यसकारण त्यहाँ पनि हल निकाल्न सकिन्छ। जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ। त्यसैले त्यसलाई हल गरौं।’

त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिएका थिए। उनले रेशम चौधरीविरुद्धको मुद्दा आफ्नो बसमा नरहेको बताए। उनीविरुद्धको मुद्दा अदालती प्रकृयामा रहेको बताउँदै उनले आफूले चाहेरमात्र त्यसलाई सहजै सुल्ट्याउन नसक्ने समेत बताए।

‘राजनीतिक बन्दीहरुलाई छोड भनेर कुरा उठेको छ। रेशम चौधरी मैले पनि चिनेको मान्छे हो। मलाई दाइ दाइ भन्नुहुन्थ्यो,’ उनले भने, ‘कति कुराहरू क्याविनेटले फिर्ता लिए पनि फिर्ता हुँदैन। तपाईंलाई पनि राम्रोसँग थाहा छ यो कुरा।’
प्रधानमन्त्री देउवाले आफू पनि जेल परेको स्मरण गर्दै जेल नै समस्याको समाधान नभएको पनि बताए।

‘कति केसहरुमा, त्यो चाहेर पनि हुँदैन। त्यस कारण राजनीतिक बन्दीहरुलाई कतिसम्म जेल राख्ने? छोड्न त म पनि चाहन्छु नि,’ उनले भने, ‘जेल हाल्दैमा समाधान हुँदैन। हामीलाई पनि जेल हालेकै हो, हामी पनि जेल परेकै हो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *