इटालीले जित्यो युरोकपको उपाधि, पेनाल्टीमा इंग्ल्यान्ड पराजित

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।
यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ। यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो। इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटालीले बाजी मार्यो। पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए। त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो। खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे।

तर, खेलको ६७औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए। मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए। इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ। इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो। इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।

इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्यान्डले भने डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो।

रोनाल्डोलाई गोल्डेन बुट
पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन्। गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे। उनले १ असिस्टसमेत गरे।

चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन्। प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए। युरोकपको उपाधि भने इटालीले जितेको छ। फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो।

इटालीका गोलकिपर सर्वोत्कृष्ट खेलाडी घोषित
इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दी टुर्नामेन्ट चुनिएका हुन्।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन्। आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको हो।

फाइनलमा उनले दुई पेनाल्टी प्रहार समेत रोकेका थिए। स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनी नायक बनेका थिए। जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए। उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *