पूर्वमाओवादी नेताहरुले दिएको निवेदन खारेज, माओवादी केन्द्र वैधानिक रहेको आयोगको निर्णय

निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए।

उनीहरुको निवेदनमा छलफल गर्न आवश्यक नभएकाले निवेदन खारेज गरिएको आयेगले जनाएको छ। ‘‍‍‍संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन,’ आयोगको निर्णयमा भनिएको छ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिए।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो। पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *